म्याग्दीमा पन्ध्र वटा झोलुङ्गे पुल निर्माण हुँदै

  • २ असार २०७६, सोमबार
  • 2379 पटक पढिएको

बेनी २ साउन । म्याग्दीका विभिन्न खोलाहरुमा चालू आर्थिक वर्ष २०७५÷७६ मा पन्ध्र वटा झोलुङ्गे पुल निर्माण सुरु भएको छ । एक वटा झोलुङ्गे पुल निर्माण सकिएको छ । बाँकी चौध वटा पुल निर्माणको चरणमा छन् । झोलुङ्गे पुल सहयोग कार्यक्रम (टिबीएसयु)को प्राबिधिक सहयोगमा निर्माण हुन लागेका ती पुलहरुबाट तीन हजार ६८८ घरधुरीका बीस हजार ४३३ जनसंख्या लाभान्वित हुनेछन् । पुल निर्माणका लागि सामाजिक परिचालन र प्राबिधिक सहयोगको काम गर्दै आएको गैरसरकारी संस्था मिलन म्याग्दीका सामाजिक सुपरिवेक्षक रिजन तिलीजाका अनुसार सबै पुलको लम्बाई ८१७.७५ मिटर छ ।

पुल निर्माणका लागि पाँच करोड चार लाख ८० हजार ९८७ रुपैयाँ लागत अनुमान गरिएको छ । अन्नपूर्ण गाउँपालिकामा तीन, रघुगंगामा दुई, मंगलामा दुई, मालिकामा ४ र धवलागिरी गाउँपालिकामा चार वटा पुल निर्माण हुदैछन् । धवलागिरी गाउँपालिका–६ मराङको बेशी स्थित ठूलो खोलामा तीस लाख ५२ हजार २३१ रुपैयाँको लागतमा गत हप्ता ५६ मिटर लामो झोलुङ्गे पुल निर्माण भइसकेको छ । पुल बनेपछि गाउँलेले सुरक्षित रुपमा आवत जावत गर्न पाएका छन् । यात्रा अवधिको समय छोटिएको छ । ढुवानीमा सहज भएको छ ।

धवलागिरी गउाँपालिका–२ मा खवाङखोला, पहिरेनीखोला र १ गुर्जामा कातीखोला झोलुङ्गे पुल निर्माण गर्न लागिएको छ । मालिका गाउँपालिका–२ रुममा खहरेखोला, ३ मा छेरवाङखोला, पात्लेखोला र ७ मा शिवरात्रीखोलामा झोलुङ्गे पुल निर्माण भइरहेको छ । मंगला गाउँपालिका २ मा काफलचौर र ४ मा जुगेपानी झोलुङ्गे पुल बन्न लागेको हो । रघुगंगा गाउँपालिका–६ पाखापानीमा उपल्लो ठूलोखोला र मुलपानीमा पुल बनाउन लागिएको छ । अन्नपूर्ण गाउँपालिकाको दोसल्लेमा कालीगण्डकी नदीमाथि र नारच्याङमा पल्लो घलेम्दीखोलामा पुल बन्न लागेको हो । हिस्तान र राम्चेको सिमानामा पर्ने मर्ना खोलाको पुल मर्मत गर्न लागिएको छ ।

गत वर्ष म्याग्दीमा ११ वटा झोलुङ्गे पुल निर्माण भएका थिए । सडक सुबिधाको पहुँच देखि टाढा रहेका दुर्गम बस्तीमा आवत जावत र ढुवानीका लागि झोलुङ्गे पुल प्रभावकारी बनेका छन् । उपभोक्ता समिति मार्फत निर्माण हुन लागेका सबै पुल चालू आर्थिक वर्षभित्रनै सम्पन्न गर्ने लक्ष्य छ । पुल निर्माणका लागि टिबिएसयुले लठ्ठा र बुल्डअप ग्रिप उपलब्ध गराउँछ । मजदुरको ज्याला, निर्माण सामग्री खरिदको भुक्तानी स्थानीय तहले गर्नेछन् ।

????????????????????????????????????