वेष्ट पुलिस अवार्ड बुढालाई

  • १ असार २०७६, आईतवार
  • 1594 पटक पढिएको

बेनी १ असार । म्याग्दीमा जेठ महिनाको वेष्ट पुलिस अवार्ड बेनी नगरपालिका–९ मा रहेको गलेश्वर प्रहरी चौकीका हवल्दार झलकबहादुर बुढाले पाउनुभएको छ ।  बैशाख महिनादेखि जिल्ला प्रहरी कार्यालयले मासिक रुपमा उत्कृष्ट कार्यसम्पादन गर्ने एक जना प्रहरीलाई वेष्ट पुलिस अवार्डबाट सम्मान गर्न थालेको थियो । सडक तलको पहिरोको जोखिममा रहेको प्रहरी चौकी लाई सुरक्षित ठाउँमा स्थानान्तरण गराउन पहल गरेको आधारमा बुढालाई सम्मान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गलेश्वर मन्दिर अगाडीको गलेश्वर ठूलो सल्लेरी सामुदायिक वन उपभोक्ता समूहको भवनबाट सञ्चालन हुदै आएको प्रहरी चौकी त्यसमाथि खनिएको सडकका कारण जोखिममा परेको थियो । गलेश्वर शिवालय क्षेत्र विकास कोषको स्वामीत्वमा रहेको बसपार्क स्थित तीन कोठे भवनमा चौकी स्थानान्तरण गरिएको छ । बुढालाई प्रहरी निरिक्षक रामप्रसाद पाण्डेले शनिबार नगद र कदरप्रत्र प्रदान गर्नुभएको थियो । प्रहरी कर्मचारीको मनोबल वृद्धी गराई सांगठनिक लक्ष्य हासिल गर्न उत्प्रेरण प्रदान गर्ने उद्देश्यले सम्मानको कार्यक्रम सुरु गरिएको हो ।

यसैगरी प्रहरीसंग एक दिन कार्यक्रम अन्तरगत धवलागिरी, मालिका र रघुगंगा गाउँपालिकाका माध्यमिक विद्यालयहरुका कक्षा ८, ९ र १० का विद्यार्थीहरुलाई आगु औषध दुब्र्यसन, साईबर अपराध, बाल दुव्र्यव्हार, व्यक्तिगत सुरक्षा र अभिभावकलाई लैङ्गिक हिंसा, बालबालिकाको लागि अभिभावकको भूमिका, बाल दुव्यवहारको विषयमा अभिमुखीकरण गरिएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत जनप्रतिनिधि र स्थानीयबासीहरुको सहभागितामा विभिन्न ठाउँमा गाजा फडानी समेत गरिएको छ ।