धवलागिरी र अन्नपूर्णको सबै वडामा हेलीप्याड निर्माण

  • ३२ जेष्ठ २०७६, शनिबार
  • 2815 पटक पढिएको

बेनी ३२ जेठ । आपतकालिन र विपद्को अवस्थामा उद्धार तथा राहतको कामलाई व्यवस्थित बनाउने उद्देश्यले म्याग्दीको धवलागिरी र अन्नपूर्ण गाउँपालिकाको सबै वडामा हेलीकप्टर अवतरण गर्ने स्थान (हेलीप्याड) निर्माण भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको म्याग्दीको सबै वडामा हेलीप्याड निर्माण गर्ने योजना अनुसार अन्नपूर्ण र धवलागिरी गाउँपालिकाले सुरक्षा निकाय, वडाका जनप्रतिनिधि, युवा कल्व र आमा समूहको सहयोगमा सबै वडामा हेलीप्याड बनाएको जनाएका छन् । यस अघि मालिका गाउँपालिकाले सबै वडामा हेलिप्याड निर्माण गरिसकेको छ ।

धवलागिरीको गुर्जा, लुलाङ, मुना, मुदी, मल्कवाङ, मराङ र ताकममा हेलीप्याड निर्माण गरिएको अध्यक्ष थमसरा पुनले बताउनुभयो । हेलिप्याड निर्माणका लागि धवलागिरी गाउँपालिकाले सात लाख रुपैयाँ खर्च भएको जनाएको छ । अन्नपूर्णको दोवा, भुरुङ्ग–तातोपानी, दाना, नारच्याङ, शिख, घार, हिस्तान र राम्चेमा स्वास्थ्य चौकी परिसरमा हेलीप्याड बनाइएको छ ।

ढलान गरेर एच आकार सहितको हेलीप्याड बनाएका हुन् । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रका बस्तिहरुमा आकस्मिक बिरामी, दुर्घटना, पहिरो, बाढी, कटान, आगोलागीको अवस्थामा तत्कालै पुगेर उद्धार तथा व्यवस्थापनको कामलाई सहज बनाउन हेलीप्याड निर्माण गरिएको प्रजिअ लीलाधर अधिकारीले बताउनुभयो । उहाँका अनुसार म्याग्दीका ४५ मध्य हालसम्म ३३ वडामा हेलीप्याड निर्माण भएको छ ।