सांसद थापाले संसदमै किन गाए बाल गित (भिडियो सहित)

  • ३१ जेष्ठ २०७६, शुक्रबार
  • 2928 पटक पढिएको

बेनी ३१ जेठ । म्याग्दीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य भुपेन्द्र थापाले सरकारले नीति तथा कार्यक्रम अनुसार बजेट ल्याउन नसकेको टिप्पणी गर्नुभएको छ । बिनियोजन बिधेयक २०७६ माथि शुक्रबार प्रतिनिधिसभाको बैठकको छलफलमा भाग लिदै सांसद थापाले नीति तथा कार्यक्रम अनुसार विषयगत मन्त्रालयले योजनाहरुमा बजेटको व्यवस्थापन गर्न नसकेको बताउनुभयो ।

संघीय मामिला तथा सामान्य प्रशासन, खानेपानी तथा सरसफाई र शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालय अन्तरगत प्रस्तावित योजनाहरुको छलफलमा भाग लिदै मन्त्री थापाले बजेट केटाकेटी खेलेजस्तो भएको गुनासो गर्नुभयो । मन्त्री, सचिव, विभागीय प्रमुखले दिएको आश्वासन अनुसार बजेट व्यवस्थापन नभएको र मन्त्रीहरुकै जिल्लामा मात्रै धेरै बजेट बिनियोजन गरेको बताउनुभयो ।

उहाँले आफूहरुको मेहनत बजेटलाई खै बिरालो, मुसा खोज्न गयो…. खै गाई गाई खोलाले बगायो, खै खोला सुक्यो भनेजस्तै भएको बताउनुभयो । सांसद थापाले दुर्गम ग्रामिण क्षेत्रका बासिन्दाहरुले सामुदायिक विद्यालयमा शिक्षक दरबन्दि नहुँदा गास काटेर शिक्षक पाल्नुपर्ने अवस्था भएको बताउँदै तहगत र कक्षागत शिक्षकको दरबन्दि व्यवस्थापन र विद्यार्थी संख्या कम भएका विद्यालयलाई गाभेर आवासीय बनाउन बजेट बिनियोजन गर्नुपर्ने बताउनुभयो ।

संघीय मामिला मन्त्रीका जिल्लामा पानाका पाना योजना भएको तर आफूहरुले प्रस्ताव गरेका योजना खोजेर हेर्नुपरेको गुनासो गर्दै म्याग्दीका विकट बस्तीहरुमा झोलुङ्गे पुलहरु निर्माणका योजना समेट्न माग गर्नुभयो । यसैगरी यसअघिकै बष सुरु भएका बृहत घोप्टेखोला, बृहत भगवती पिप्ले लगायतका खानेपानी योजनाहरुलाई न्युन बजेट बिनियोजन हुँदा बाजेका पालामा सुरु भएका योजनाहरु नातीका पालामा पनि नसकिने अवस्था देखिएको बताउनुभयो ।

उहाँले जनताले योजना किताबको पानी खाएर बाँच्न नसक्ने भन्दै सम्बन्धित मन्त्रालय र मन्त्रीको ध्यानकर्षण समेत गराउनुभएको थियो । साँसद थापाले विनियोजन विद्येयक माथि माग लिँदै जिल्लामा अत्याबश्यक ठाउँहरुमा निर्माण गर्नुपर्ने पुलहरु मध्ये पात्लेखेत–मौवाफाँट, शिख–पाउद्धार, मुदी–खिबाङ र पाखु र हिलबाङ जोड्ने झोलुंगे पुलको लागि बजेट विनियोजन नभएको प्रति ध्यानकर्षण गराउँदै तत्काल बजेटको सुनिश्चिता गर्न माग गनुृभएको थियो ।