भगवती आधारभुतमा पुरस्कार र छात्रवृत्ति वितरण

  • ३१ जेष्ठ २०७६, शुक्रबार
  • 1650 पटक पढिएको

 

दिच्याम ३१ जेठ । मालिका गाउँपालिका–६ दिच्याममा रहेको भगवती आधारभूत विद्यालयमा बिहीबार पुरस्कार र छात्रवृत्ति वितरण गरिएको छ । गत शैक्षिक सत्र २०७५ को वार्षिक परिक्षामा कक्षा प्रथम, दृतीय, तृतीय भएका विद्यार्थीलाई पुरस्कृत र विभिन्न शिर्षकमा गाउँपालिकाले उपलब्ध गराएको छात्रवृत्ति वितरण गरिएको हो । ३३ जना दलित, अन्य छात्रालाई चार सय रुपैयाँका दरले र एक जना अपांगलाई पाँच हजार रुपैयाँ छात्रवृत्ति उपलब्ध गराइएको हो ।

कार्यक्रममा मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले शैक्षिक गुणस्तर सुधारका लागि योजना बनाएर अघि बढ्न लागिएको बताउनुभयो । विद्यालय प्रशासन, शिक्षक, अभिभावक र विद्यार्थीहरुलाई जिम्मेवार बनाउन नीतिगत पहल गरिने बताउनुभयो ।उपाध्यक्ष खरमाया बिटालुले राष्ट्रिय पुननिर्माण प्राधिकरण मार्फत हाल दुई कोठे भवन निर्माण भइरहेको भगवती आधारभूतमा आगामी वर्ष थप तीन कोठे भवन र शौचालय योजना परेको जानकारी दिनुभयो ।

वडा अध्यक्ष सन्तोष सुवेदीले पनि मन्तब्य व्यक्त गर्नुभएको कार्यक्रमका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कर्णबहादुर रोकाले भौतिक पूर्वाधार तयार पारेर कक्षा ९ र १० पनि पठनपाठन सञ्चालन गर्न पहल गरिएको बताउनुभयो ।

भौगोलिक बिकटताका कारण माविको आवश्यकता रहेको स्थानीयको भनाई छ । शिक्षक टकबहादुर पुनको सञ्चालन, सम्झना कार्कीको स्वागतमा सम्पन्न भएको कार्यक्रममा प्रअ जगतबहादुर खत्रीले विद्यालयको शैक्षिक, आर्थिक र भौतिक प्रगति सार्वजनिक गर्दै गत वर्ष सरकारी निकाय बाहेक समुदाय स्तरबाट विद्यालयलाई दुई लाख रुपैयाँ बराबरको सहयोग प्राप्त भएको जानकारी दिए ।