सामुदायिक विद्यालयलाई ल्यापटप वितरण

  • २३ जेष्ठ २०७६, बिहीबार
  • 2420 पटक पढिएको

भगवती २३ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिकाका पाँच वटा विद्यालयलाई बिहीबार ल्यापटप उपलब्ध गराइएको छ । सामुदायिक विद्यालयमा आधुनिक सूचना प्रबिधिको पहुँच वृद्धी गरि प्रशासनिक र शिक्षण बिधिमा सुधार गर्न सहयोग पु¥याउने उद्देश्यले १५ थान ल्यापटप वितरण गरिएको हो ।

दक्षिण कोरियाको अम हङ गिल हुमन फाउण्डेशनले महादेव मावि बेगलाई चार थान, अमर मावि चिमखोलालाई तीन थान, मुक्तिधाम मावि भगवतीलाई चार थान, ज्ञानोदय मावि मौवाफाँटलाई दुई र रघुगगां मावि पिप्लेलाई दुई थान ल्याप्टप उपलब्ध गराएको हो ।

भगवतीको मुक्तिधाम माविमा आयोजित समारोहमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले विद्यालयका प्रअ तथा व्यवस्थापन समितिका अध्यक्षहरुलाई ल्यापटप वितरण गरेकी थिईन । बेनीको प्रकाश माविलाई चार थान र म्याग्दी सामुदायिक पुस्तकालयलाई एक थान ल्यापटप उपलब्ध गराइने मन्त्री थापाका स्वकीय अधिकृत हस्तकुमार थापाले जानकारी दिए ।

ल्यापटप हस्तान्तरण कार्यक्रममा मन्त्री थापाले शैक्षिक गुणस्तर सुधारका लागि प्रबिधिको प्रयोग गर्नुपर्नेमा जोड दिईन । कार्यक्रममा जिसस प्रमुख देवेन्द्र केसी र वडा अध्यक्ष रिमबहादुर केसीले यसै शैक्षिक सत्रदेखि कृषि विज्ञान विषयका पठनपाठन भएको मुक्तिधाम माविको पूर्वाधार र अन्य व्यवस्थापकीय सुधारमा सहयोगका लागि मन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्रबहादुर मल्लको अध्यक्षता र शिक्षक बिष्णुप्रसाद पाण्डेको सञ्चालनमा सम्पन्न कार्यक्रममा प्रअ अमर केसीले विद्यालयको बारेमा जानकारी गराएका थिए ।