बेनीमा बस्यो संसद बैठक (फोटो फिचर)

  • १९ जेष्ठ २०७६, आईतवार
  • कमल खत्री
  • 3712 पटक पढिएको

कमल खत्री

म्याग्दी, १९  जेठ  । हलभित्र दुई भागमा विभाजन गरिएका कुर्चिमा युवाहरु शान्त भएर बसेका छन् । एकैछिन टिररररर् घण्टी बज्छ । घण्टी बज्न छाडेपछि ढाका टोपी लगाएका एक युवा मञ्चको अगाडी देखा पर्छन । ‘माननिय सदस्यहरु, सम्मानिय सभामुख ज्यू’ बाक्य उच्चारण गर्दै मर्यादापालकको भुमिकामा रहेका तिलक थापाले एक युवतिलाई स्टेजतर्फ बाटो देखाउँछन् । साडि लगाएकी युवती हलभित्र प्रवेश गरि नेपालको झण्डा ठड्याइएको टेबुल सहितको कुर्चितर्फ लाग्दा हलमा शान्त भएर बसेका सबै युवायुवति उभिन्छन् । हलभित्र राष्ट्रिय गान गुञ्जिन्छ ।

सभामुखलको भुमिकामा रहेकी अनिसा भण्डारी स्टेजमा पुगेपछि संसद बैठकलाई सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै संसद बैठक सुचारु भएको राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउँछीन् । हलभित्रको दृष्य संघिय सरकारको संसदको झल्को दिने थियो । आईतवार दिउँसो बेनीको एक होटलमा देखिएको यो दृष्य वास्तविक संसदको नभएर बेनी नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले आयोजना गरेको युवा संसद अभ्यासको हो । संसदीय अभ्यासको बारेमा युवाहरुलाई जानकारी दिने र क्षमता तथा नेतृत्व विकास गर्ने उदेश्ये आयोजित तीन दिने युवा संसद अभ्यास तालिमको अन्तिम दिन तालिममा सहभागि युवायुवतिहरुले संसदको झल्को दिने प्रदर्शन गरेका हुन् ।

तालिममा सहभागि युवायुवतिहरुमध्येबाट युवा संसदको लागि नगरपालिकाको १० वटा वडाबाट दुई÷दुई जना संसद निर्वाचित गरि २० जना र ७ जना मनोनित गरि २७ जनाको संसद बनाइएको थियो । संसदबाट बहुमतीय प्रणालीबाट ६ सदस्यीय मन्त्रीमण्डल समेत बनाइएको थियो । हलभित्र एकतर्फ सत्तापक्ष र अर्कोतर्फ प्रतिपक्षका युवा संसदहरु हलरै बसेका थिए । अघिल्लो कुर्चिमा प्रधानमन्त्री, मन्त्री हुँदै बरियताक्रम अनुसार नै आसन मिलाइएको थियो । कार्यक्रममा सभामुखले शुन्य समयमा बोल्नको लागि नाम टिपाएका युवा संसदहरुको नाम उच्चारण गर्दा कुर्चिबाट उठेर सम्बन्धित युवा संसदले समसामयिक बिषयमा सरकार र सदनको ध्यानकर्षण गराउँथे ।

सुन्य समय पछि सभामुखले बिशेष समयमा बोल्न चाहनेहरुको नाम उच्चारण गर्दा पनि संसदहरुले उस्तै गरि सरकारका काम कारबाही र समसामयिक बिषयमा जिशाज्ञा र प्रश्न राख्दै ध्यानकर्षण गराएका थिए । शुन्य समयमा १ मिनेट र बिशेष समयको लागि ३ मिनेट समय तोकिएको थियो । शुन्य समयमा अञ्जना बानियाँ, कुसुम सुनार, अमिसा शाही, महेश किसान, सुर्जा छिनाल र सिर्जना विश्वकर्मा तथा विशेष समयमा यमुना पाईजा, सोनीयाँ पुन, सृष्टि थापा, मनिता गौचन लगायतले भाग लिएका थिए ।

बिशेष समय पछि सभामुखले विपक्षी दलका नेता बनेका विशाल खत्रीलाई बोल्नको लागि रोष्टमको प्रयोग गर्न सक्ने सुविधा दिन्छीन् । विपक्षी दलका नेताले सरकारले ल्याएका विद्येयक र कामबारे आलोचना गर्छन् । लगत्तै सभामुखले बिशेष समयको कारबाही अन्त्य गर्दै युवा संसदको सकारलाई संसदमा उठेका प्रश्नहरुबारे पालैपालो मन्त्रीहरु र प्रधानमन्त्रीको भूमिकामा रहेकाहरुलाई बोल्न समय दिन्छीन् । सुरुमा भौतिक पूर्वाधार मन्त्री बनेका रुविन श्रेष्ठ, शिक्षा, युवा तथा खेलकुद मन्त्री समिर रोका, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री धनमायाँ श्रेष्ठ, कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री सुनिता थापा मगर, गृह र रक्षा मन्त्री मुनाल परियार हुँदै प्रधानमन्त्री बनेका अनिल रोकाले संसदमा उठेका प्रश्नहरुको जिज्ञासा मेटाउँने कोसीस गर्छन् ।

मन्त्रीले प्रस्तुत गरेको विद्येयक पारित गर्दा सत्तापक्षका युवा संसदहरुले पक्षमा र प्रतिपक्ष संसदहरुले विपक्षमा हात उठाउँँदै हुन्छ र हुन्न भन्दै समर्थन र विरोध जनाउँथे । विद्येयक पारित भएको घोषणा हुँदा सत्ता पक्षतर्फका संसदहरुले मात्रै टेबल बजाएर खुसियाली बाँड्थे । अन्त्यमा सभामुखले राष्ट्रपती कार्यालयबाट चालु रहेको संघिय युवा संसदको अधिवेशन अन्त्य भएको पत्र पढेर बैठक अन्त्य भएको घोषणा गर्छिन् । युवा संसदको बैठक चलिरहँदा छेउमा बनाईएको पर्यबेक्षक कक्षबाट मेयर हरिकुमार श्रेष्ठ, उपमेयर सञ्जु बरुवाल सहित विभिन्न राजनीतिक दलका प्रतिनिधि र विद्यालयका शिक्षकहरुले अवलोकन र र पत्रकारहरुको कक्षबाट पत्रकारहरुले सदनको गतिविधि क्यामेरामा कैद गरिरहेका थिए ।

नगर स्तरीय युवा सञ्जाल गठन र युवा संसद अभ्यासको लागि आयोजित तालिममा बेनी नगरपालिकाका १० वटै वडाका युवायुवतिहरुको सहभागिता रहेको थियो । तालिममा सहभागि भएकाहरुलाई दुई दिनसम्म आधारभुत तालिम दिएपछि अन्तिम दिन संसदमा हुने कामबारे अभ्यास गराईएको बेनी नगरपालिकाका अधिकृत युवराज थापाले जानकारी दिए । तालिममा म्याग्दीका पूर्व सभासद गोविन्द पौडेल, बागलुङ नगरपालिकाका शिक्षा शाखाका उपसचिब डण्डपाणी शर्मा, बेनी नगरपालिकाका शिक्षा शाखाका अधिकृत विश्व रेग्मी, नगरपालिकाका अधिकृत युवराज थापा, शिव शर्मा, संघिय युवा संसदका सदस्य एवम प्रशिक्षित प्रशिक्षक दर्पण रोका र हिरा शर्मा लगायतले सहजीकरण गरेका थिए ।

तालिम समापन समारोहमा बोल्दै बेनी नगरपालिकाका मेयर श्रेष्ठले युवाहरुलाई संसदीय अभ्यास र राजनैतिक चेतना संगै नेतृत्व र क्षमता विकासको लागि तालिम दिईएको बताए । कार्यक्रममा उपमेयर सञ्जु बरुवाल, नेपाली काँग्रेस म्याग्दीका उप–सभापती माधव प्रसाद रेग्मी, जामुनाखर्क माविका प्रअ सोमनाथ ढुंगाना, म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष उत्तम कुमार कर्माचार्य, संघिय युवा संसदका सदस्य दर्पण रोका लगायतले मन्तव्य राखेका थिए ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l