स्वार्गद्धारी मन्दिरको संरक्षण सुरु

  • १९ जेष्ठ २०७६, आईतवार
  • 2581 पटक पढिएको

 

म्याग्दी, १९ जेठ । म्याग्दीको रघुगंगा र मंगला गाउँपालिकाको सिमानामा रहेको धार्मिक स्थल स्वर्गद्धारी मन्दिरको घेराबार गरेर संरक्षण सुरु गरिएको छ । रघुगंगा गाउँपालिकाले स्वर्गद्धारीको शिव मन्दिर, तिर्थयात्री निवास र गौशालाको संरक्षणका लागि घेराउ गरेको हो ।

स्वर्गद्धारीको शाखा मानिएको यो क्षेत्र १४ रोपनी क्षेत्रफलमा फैलिएको छ । गाउँपालिकाले चालू आर्थिक वर्षमा बिनियोजन गरेको पाँच लाख रुपैयाँ बजेटबाट स्वर्गद्धारी क्षेत्रमा १४० मिटर तारबार गरेर घेराउ गरिएको झिँका वडा अध्यक्ष मनबहादुर शेरपुञ्जाले जानकारी दिए । तारजालीका साथै प्रवेशद्धार र प्रतिक्षलय पनि निर्माण गरिएको छ । स्वर्गद्धारा शाखाको संरक्षणका लागि चारैतर्फ घेराबार गर्नुपर्ने शिव मन्दिरका सन्यासी प्रभानाथ योगीले बताए ।

रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले स्वर्गद्धारी परिसरमा गौशाला निर्माणका लागि आफुल पाउने पारिश्रमिकबाट स्थापना गरेको कोषबाट सहयोग गर्ने बताए । तारजालीको घेराबारलाई पूर्णता दिन गाउँपालिकाबाट थप बजेटको व्यवस्थापन गर्ने अध्यक्ष भण्डारीले बताए । प्युठानको स्वर्गद्धारी आश्रमको शाखा मानिने टोड्केमा स्वर्गद्धारीबाट आएका ऋषीहरुले तपस्या गरेको ईतिहाँस छ । स्वर्गद्धारी महाप्रभु प्युठानबाट आएर केही समय टोड्केमा तपस्या गरेको स्थानीय बताउछन् ।


स्वर्गद्धारीमा महाप्रभुले प्रयोग गरेको खराउ (काठको चप्पल) अझै रहेकाले महाप्रभु टोड्केमा आएको प्रमाण रहेको छ । धौलागिरी हिमालको फेदीमा रहेको रिखार क्षेत्रमा तपस्या गर्न आउने जाने ऋषिहरुले टोड्केलाई बासस्थानको रुपमा प्रयोग गरेको इतिहाँस छ । २०७२ मा महायज्ञ आयोजना गरेर स्वर्गद्धारी शाखाको संरक्षणका लागि शिव मन्दिर पुननिर्माण गरिएको थियो । महायज्ञको आम्दानीबाट गौशाला सञ्चालन र तिर्थयात्री निवास निर्माण गरिएको छ ।

समथर भुगोल र एकान्त वातावरणमा अवस्थित, हिमशृङखला, सुर्योदय, गुरासको जंगल, प्राकृतिक सौन्दर्यता र ग्रामिण बस्तीहरुको अवलोकन गर्न सकिने टोड्केको पर्यटकीय सम्भावना पनि छ । गुर्जा, धौलागिरी, मानापाथी, निलगिरी, अन्नपूर्ण, माछापुच्छ्रे लगायत १५ वटा हिमशृङखलाहरुलाई नजिकबाट अवलोकन गर्न सकिने टोड्केको विशेषता रहको छ ।