मालिकामा वडा स्तरमा मेलमिलाप केन्द्र स्थापनाको तयारी

  • ११ जेष्ठ २०७६, शनिबार
  • 1798 पटक पढिएको

 

दरवाङ ११ जेठ । म्याग्दीको मालिका गाउँपालिकाको वडा स्तरमा मेलमिलाप केन्द्र स्थापनाको तयारी भएको छ । न्यायिक समितिका काम कारबाहीलाई प्रभावकारी बनाउन, ग्रामिण बस्तीका बासिन्दाको न्यायमा पहुँच बढाउन र स्थानीय स्तरमै मेलमिलापको माध्यमबाट बिवाद निरुपण गर्ने उद्देश्यले मेलमिलाप केन्द्र स्थापना गर्न लागिएको हो ।

वडा स्तरमा मेलमिलाप केन्द्र स्थापनाका लागि वडा कार्यालय अन्तरगत रहेनगरी भौतिक पूर्वाधारको व्यवस्थापनसंगै मेलमिलाप कर्ताहरुलाई ५ दिने पुनताजकी तालिम प्रदान गरिएको गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुले बताउनुभयो ।

४५ जनाको सहभागिता रहेको तालिमको उच्च अदालत पोखराको बागलुङ इजलासका न्यायाधिश प्रकाश शिवाकोटी, म्याग्दी जिल्ला अदालतका न्यायाधिश राजकुमार कोइराला लगायतले सहजिकरण गर्नुभएको छ । मेलमिलाप केन्द्रमा विभिन्न ११ प्रकारका बिवाद निरुपण गर्न पाउने व्यवस्था छ ।

पशु चौपाया, वृद्धबृद्धालाई खान लाउन नदिएको, साँध सिमाना, ज्याला नदिएको जस्ता गुनासो तथा उजुरी मेलमिलाप केन्द्रमा गर्न सकिन्छ । वडामै बिवाद निरुपण र मेलमिलाप गर्दा न्यायिक समितिको कार्यबोझ घट्नुका साथै अन्य निकायमा जानु पर्ने अवस्था नहुने जनाइएको छ ।