घट्टेखोलामा निर्माणाधिन मोटरेबल पुल बाढीले बगायो

  • ११ जेष्ठ २०७६, शनिबार
  • 2326 पटक पढिएको

 

बेनी ११ जेठ : राष्ट्रिय गौरवको कालीगण्डकी कोरीडोरको बेनी–जोमसोम–कोरला सडक अन्तरगत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाको घट्टेखोलामा निर्माणाधिन मोटरेबल पुल शनिबार दिउँसो बाढीले बगाएको छ ।

निर्माणको अन्तिम चरणमा पुगेको पुल बाढीले बगाउँदा तीन करोड रुपैयाँ बराबरको क्षति भएको निर्माण कम्पनीले जनाएको छ । दिउँसो करिब एक घण्टा लगातार परेको बर्षापछि आएको बाढीले निर्माणाधिन पुल बगाएको प्रत्यक्षदर्शी गंगा पुनले जानकारी दिईन ।

बाढीका कारण वरपरका बस्तीहरु कटानको जोखिममा परेका छन् । बेनी–जोमसोम सडक अवरुद्ध हुँदा यात्रुहरु बिच बाटोमै अलपत्र परेका छन् । घराप र गाडपारको सिमानामा पहिरोले विद्युतको पोल ढलाएको छ । दाना र मुस्ताङ तर्फ केन्द्रीय प्रशारण लाइनको विद्युत अवरुद्ध बनेको छ ।

४० मिटर लामो पुल निर्माणका लागि बेनी–जोमसोम–कोरला सडक आयोजना र फेवा नयाँबाटो (जेभी) जोइन्टभेञ्चर बिच २०७३ असार २९ गते ठेक्का सम्झौता भएको थियो । पाँच करोड ७६ लाख ८० हजार ५५६ रुपैयाँमा सम्झौता भएको पुल २०७५ असार २९ गते सम्पन्न गर्ने लक्ष्य थियो ।

११ मिटर फाराकिलो पुलको गाडी हिड्ने भाग सटीङ गरेर ढलानको तयारी गरिएको थियो थियो । दुई तर्फ मानिस भाग ढलानका लागी सटिङ गर्न बाँकी भएको अवस्थामा बाढीले बगाएको निर्माण कम्पनीका प्रतिनिधि रविन्द्र कार्कीले बताए ।
डाइभर्सन भत्काएर ढालन अडाउन ठडाइएको सटिङ बगाएको थियो । पुल बगाउँदा तीन करोड रुपैयाँ बराबरको क्षति भएको कार्कीको भनाई छ । पुलको पिल्लर मात्र बाँकी रहेको घटनास्थलको निरिक्षणमा पुग्नुभएका जिसस सदस्य मेखबहादुर गर्बुजाले बताए ।

आयोजनाका अनुसार यो पुल प्रिस्टीड प्रबिधिको हो । हाल घट्टे खोलाबाटै सवारी साधन आवत जावत गर्छन् । बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपर भाइजर इन्द्रसिङ शेरचनका अनुसार बाढी आउँदा र बर्खाको समयमा सवारी आवत जावत बन्द हुने गरेका छन् ।