धुले मेलामा एक लाख रुपैयाँ पुरस्कार राशीको लोक दोहोरी गित प्रतियोगिता

  • ९ जेष्ठ २०७६, बिहीबार
  • 3731 पटक पढिएको

 

बेनी ९ जेठ । म्याग्दीको मंगला गाउँपालिका ४ बरंजामा परम्परागत धुले मेलाको अवसरमा एक लाख रुपैयाँ पुरस्कार राशीको लोक दोहोरी गित प्रतियोगिता आयोजना हुने भएको छ ।धुले मेला संरक्षण समितिले बिहीबार बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा खुल्ला लोक दोहोरी गित प्रतियोगितामा बिजेता र उपबिजेतालाई एक लाख र पचास हजार रुपैयाँ पुरस्कार प्रदान गरिने जानकारी गराइएको हो ।

लोकदोहोरी गित प्रतियोगिता संयोजक कुलदिप जुग्जालीले एउटा समूहमा एक÷एक जना केटा केटी रहने र उनिहरुलाई निशूल्क प्रवेश शूल्क, खान र बस्ने व्यवस्था मिलाइने जानकारी दिनुभयो ।सोही अवसरमा आयोजना हुने पुरुष भलिबल प्रतियोगितामा बिजेतालाई ७५ र उपबिजेतालाई ३५ हजार रुपैयाँ, बास्केटबल प्रतियोगिताको बिजेतालाई पचास र पच्चिस हजार रुपैयाँ पुरस्कार प्रदान गरिने खेलकुद संयोजक योगेन्द्रमान शेरचनले बताउनुभयो ।

महिला भलिबल र तारोखेल प्रतियोगिता पनि सञ्चालन हुने आयोजकले जनाएका छन् । सो अवसरमा ७० वर्षीया लोक गायीका धनकुमारी गौचनको बिशेष प्रस्तुति रहने र बरंजाका अग्रज भलिबल खेलाडीहरुलाई सम्मान गरिने भएको छ ।

जेठ १९ गतेदेखि सुरु हुने खेलकुद मेला अघि जेठ १४ गतेदेखि तीन दिनसम्म परम्परागत धुले पर्व मनाइने जनाइएको छ । बरंजामा बसोबास गर्ने ५४ कुरीया मगर समुदायको परम्परागत धुले मेलालाई बरंजाको साझाँ सांस्कृतिक पर्वको रुपमा मनाउन लागिएको समितिका अध्इक्ष अर्जुन रोकाले बताउनुभयो ।

धुले पर्व अन्तरगत १४ गते पितृ पुजा, १५ गते पराङ हाल्ने र १६ गते मगर भाषामा गित गाउँदै होरे खोल्ने कार्यक्रम तय भएको छ । हरेक वर्षको जेठ महिनाको दोस्रो मंगलबार देखि तीन दिन धुले पर्व मनाउने गरिन्छ ।

धुले मेला सञ्चालनका लागि हाल बेलायतमा रहनुभएका बेलायती पूर्व गोर्खा सैनिक हर्कराज रोकाको संयोजनमा स्वदेश तथा विदेशमा आर्थिक स्रोत जुटाइएको छ ।