बेनी–जोमसोम–कोरला सडक आयोजनाको काम सुस्तायो (फोटो फिचर)

  • ९ जेष्ठ २०७६, बिहीबार
  • कमल खत्री
  • 3348 पटक पढिएको

कमल खत्री
म्याग्दी,९ जेठ । कालीगण्डकी करिडोरको बेनी–जोमसोम– कोरला सडक सुस्ताएको छ । पारवहन र व्यापारिक हिसाबले निकै महत्वपूर्ण मानिने कोरला नाकाको आधार मानिएको यस सडक आयोजनाको गति सुस्त भएपछि आयोजनालाई चौतर्फि दबाब बढेको छ । दुई ठूला मुलुक चीन र भारत जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको म्याग्दी सदरमुकाम बेनीदेखि मुस्ताङको सदरमुकाम जोमसोमसम्म कालोपत्रे र जोमसोमदेखि कोरला नाका सम्म ग्राभेल गर्ने गरि सडक स्तरोन्नति थालिएको हो ।

कुल ७६ किलोमिटरको बेनी–जोमसोममा ४ वटा र एक सय १० किलोमिटर दूरीको जोमसोम–कोरला खण्डमा ७ वटा प्याकेजसहित निर्माण कार्यलाई अघि बढाइएको भएपनि निर्माण कम्पनीले कार्यक्षेत्रमा उल्लेख्य मात्रामा उपकरण र जनशक्ति परिचालन गर्न सकेका छैनन् । बेनी–जोमसोम खण्डमा समयतालिका बनाएर सवारी आगमन गर्ने गरि निर्माण कार्यको लागि उचित वातावरण मिलाइएको भएपनि अधिकाँश ठाउँमा न्युन कामदार र उपकरण प्रयोग भएको पाइएको छ । बर्खायाम सुरु हुन लागिसक्दा समेत सडक स्तरोन्नती र पुल निर्माणमा ढिलाई भएको मुस्ताङको घाँसाका स्थानीय अगुवा विक्रम गौचनले बताउनुभयो ।

कतिपय ठाउँमा सडक कटिङ गरि पर्खाल र ग्याविनको काम नहुँदा थप प्राकृतिक विपदको जोखिम समेत बढेको उहाँले बताउनुभयो । निर्धारित समय सकिन लाग्दा आधा काम मात्रै सकिएको यस आयोजनामा निर्माण व्यवसायिले जनशक्ति परिचालनमा उदासिनता देखाएपछि तत्काल जनशक्ति र उपकरण थप गर्न निर्देशन दिइएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले बताउनुभयो । ‘‘ आयोजनाको काम नियमित अनुगमन गरिरहेका छाँै, म्याग्दी खण्डका काम सन्तोषजनक देखिएको छैन, काम नगर्ने निर्माण कम्पनीहरुको विवरण दिन आयोजनालाई भनेका छाँै, काम समयमा नगर्ने कम्पनीलाई आबश्यक परे कारबाहीको लागि समेत कदम चाल्छौँ’’– प्रजिअ अधिकारीले भन्नुभयो ।

बेनी–जोमसोम खण्ड आगामी मंसीर १५ गतेभित्र कालोपत्रेको काम सक्नुपर्ने म्याद छ भने माथिल्लो खण्डमा आगामी असार सम्मको लागि मात्रै म्याद थप भएको छ । तर निर्माण कम्पनीहरुको ढिलासुस्तीको कारण आयोजनाको अहिलेसम्म तल्लो खण्डमा ५२ र माथिल्लो खण्डमा ८० प्रतिशत मात्रै काम सम्पन्न भएको आयोजनाका प्रमुख मुकुन्द अधिकारीले जानकारी दिनुभयो । ‘‘ सडक फराकिलो बनाउने र पर्खाल लगाउने काम भैरहेको छ, कतिपय क्षेत्रमा ढिलासुस्ती पनि भएको छ, हामीले ताकेता गरिरहेका छौँ, केहि स्थानमा क्वान्टिटी फेरबदल गर्नुपर्ने देखिएको छ’’–आयोजना प्रमुख अधिकारीले भन्नभुयो ।

अधिकाँश निर्माण कम्पनीले कार्यक्षेत्रमा जनशक्ति बढाउन सकेका छैनन् । न्युन कामदार र उपकरणको न्युन परिचालनले निर्माण कार्यमा ढिलाई भैरहेको छ । बेनी–जोमसोम खण्डको काम तुलनात्मक रुपमा सन्तोषजनक छैन् । आयोजनाको गलेश्वरदेखि तातोपानी सम्मको ठेक्का लिएको शर्मा युनाइटेडले ४० प्रतिशत, तातोपानीदेखि घाँसासम्म शर्मा गजुरमुखीले ४२ प्रतिशत, घाँसादेखि कोबाङसम्म शर्मा गजुरमुखीले ४५ प्रतिशत, कोबाङदेखि जोमसोमसम्म पप्पु गौरी पार्वती कोसी एण्ड न्यौपाने जेभीले ५० प्रतिशत काम सम्पन्न गरेका छन् ।

जोमसोमदेखि ताङ्वे सम्म बज्रगुरु खड्का कृष्ण जेभीले ८५ प्रतिशत, ताङवेदेखि चैलेसम्म दिवा डाँफे एपेक्स जेभीले ८२ प्रतिशत, चैलेदेखि भेनासम्म कन्टेक कान्छाराम कोसी एण्ड न्यौपानले ३५ प्रतिशत, भेनादेखि भैmटेसम्म कन्चनजंगा लामा विरुवाले ८० प्रतिशत , झैटेदेखि चराङसम्म कन्चनजंगा लामा मोतीदान जेभीले ४५ प्रतिशत र चराङदेखि छोसेरसम्म तामाङ गौरी पार्वती कोसी एण्ड न्यौपाने जेभीले ६० प्रतिशत काम सकेका छन् ।

छोसेर देखि कोरलासम्मको १६ किलोमिटर सडक स्तरोन्नतीको काम भने दिवा रौतहा एपेक्स जेभिले गत पुसमा नै सम्पन्न गरिसकेको आयोजनाका इन्जीनियर जगत प्रजापतीले जानकारी दिनुभयो । ११ मिटर चौडा बनाएर बेनी–जोमसोम सडक कालोपत्रे र जोमसोम–कोरला सडकमा ग्राभेल बिछ्याइने छ । तीन वर्षदेखि सञ्चालनमा रहेको यस आयोजनामा कुल साढे ७ अर्ब लागत अनुमान गरिएको छ ।

बेनीदेखि कोरला नाकासम्मको यस सडक खण्डमा विभिन्न ३५ ठाउँमा पक्की पुल बनाउनुपर्नेछ । पुल निर्माण गर्नुपर्ने स्थानहरुमध्ये डोलिडारले जोमसोमस्थित कालीगण्डकी नदीमा पुल निर्माण सम्पन्न गरिसकेको छ । चैलेस्थित कालीगण्डकी नदीमा पक्की पुल निर्माण कार्य अन्तीम चरणमा पुगेको छ भने १३ स्थानमा अहिले पुल निर्माण कार्य जारी रहेपनि अधिकाँश ठाउँको लागि प्रकृया नै अघि बढेको छैन भने निर्माण सुरु भएका पुलको काम समेत सन्तोषजनक देखिएको छैन् । पुल निर्माणमा समेत ढिलाई हुँदा करिडोर सञ्चालनमा थप ढिलाई हुने देखिएको छ ।

बेनी–जोमसोम सडकका लागि विसं २०६४ मा नेपाली सेनाले ट्र्याक खोलेर विसं २०६७ मा सडक विभागलाई हस्तान्तरण गरेको थियो । भैरहवा–सुनौली नाकाबाट शुरु भएको कालीगण्डकी करिडोरको सडक बुटवल, पाल्पा, गुल्मी हुँदै बागलुङसम्म ल्याइएको छ भने बेनीदेखि– मालढुंगा सडकलाई करिडोरको रुपमा स्तरोन्नतीको लागि हालै भौतिक पूर्वाधार तथा यातयात मन्त्रालयबाट १० करोड बजेट विनियोजन भएको छ । उत्तर दक्षिण जोड्ने यो सडकको कुल लम्बाइ ४३५ किलोमिटर रहेको छ । मुस्ताङ स्थित कोरला नाका सञ्चालनको प्रमुख आधार मानिएको यस व्यापारिक मार्गको रुपमा सम्भावनायुक्त कालिगण्डकी करिडोर यस क्षेत्रमा चिनियाँ र भारतीय पर्यटकको आगमन बढाउन सहयोगी हुने विश्वास लिइएको छ ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l