मिलनचोकमा सार्वजनिक सुनुवाई,योजना कार्यान्वनयमा अपारर्शीता बढेको गुनासो

  • ९ जेष्ठ २०७६, बिहीबार
  • 2013 पटक पढिएको

मिलनचोक ९जेठ । जलजला गाउँपालिका ७ मिलनचोकमा बुधबार गाउँपालिका र जिल्ला प्रशासन कार्यालयको आयोजनामा सार्वजनिक सुनुवाई र घुम्ती शिविर सम्पन्न भएको छ । सार्वजनिक सुनुवाईमा गाउँपालिकाले सञ्चालन गर्ने विकास योजना, सेवा प्रवाहका विषयमा जनप्रतिनिधि र सहभागीहरुबीच अन्तरक्रिया भएको थियो ।

सहभागीहरुले गाउँपालिकाले बजेट बिनियोजन गरेका योजना कार्यान्वयन प्रक्रिया पुरा नगरेको, अपारदर्शी भएको, उपभोक्ता समितिमा जनप्रतिनिधिका आफन्तले मात्र अवसर पाएको, पालिकाको शिक्षा सम्बन्धी कानुन संघीय कानुन विपरित भएको, शैक्षिक क्षेत्रमा हस्तक्षेप गरेको, प्रदेश र संघका योजना कार्यान्वयमा असहयोग गरेको र जथाभावी रुपमा कालीगण्डकी नदीको बगर उत्खनन् भएको गुनासो गरेका थिए ।

गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण) बस्ती स्तरबाट सबैको सहभागिता र सुझाव तथा मागका आधारमा बजेट बिनियोजन भएका योजनाहरुलाई पारदर्शी र प्रक्रियासंगत रुपमा कार्यान्वयन गरिएको बताउनुभयो । उहाँले राजनीतिक पूर्वाग्रहका आधारमा गाउँपालिकालाई सहयोग पनि नगर्ने र आरोप मात्र लगाउने गरिएको गुनासो गर्नुभयो ।

विकास आयोजनाहरुका लागि आवश्यक नदीजन्य बस्तु आइइइ रिपोर्ट अनुसार ठेक्का प्रक्रिया मार्फत उत्खनन् र निकासी गर्न दिइएको बताउँदै यो विषयलाई अनावश्यक महत्व दिइएको बताउनुभयो । सेवा प्रवाह र विकास निर्माणमा कसैलाई भेदभाव नगरेको पनि अध्यक्ष मल्लको भनाई थियो । कार्यक्रममा नाग्लीवाङका मने दमाइले आफ्नो घर अर्केले कब्जा गरेको बर्षौ सम्म पनि न्याय नपाएको बताउनुभयो । सोम जिसी, टेकबहादुर जिसी, नरेन्द्र थापा, हेमकुमारी अधिकारी, महेन्द्र रेग्मी, नारायण मल्ल, गोकर्णबहादुर महत लगायतले गुनासो व्यक्त गर्नुभएको थियो ।

वडा अध्यक्षहरु गोविन्द खत्री, भिष्म मल्ल, टुङ्गनाथ शर्मा र हरिबिकास जिसीले सहभागिले सोधेका प्रश्नको विषयमा जवाफ दिनुभएको थियो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले चालू आर्थिक वर्षमा १४२ वटा योजना सम्झौता भएकोमा हालसम्म ७४ वटाको अन्तिम भूक्तानी भएको र ६९ वटा क्रमागत रहेका बताउनुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख मनोहर बि पौडेलले विकासको काममा सहकार्य गर्न, सेवा प्रवाहलाई सहज बनाउन, बिधि र प्रक्रियाको पालनामा जिम्मेवार हुन आग्रह गर्नुभयो । प्रजिअ गुरुदत्त ढकाल र प्रहरी नायव उपरिक्षक श्याम अर्यालले सुरक्षा, सेवा प्रवाहका विषयमा जवाफ दिनुभएको थियो ।
सोही अवसरमा प्रशासन कार्यालयको नेतृत्वमा सञ्चालित घुम्ति शिविरबाट नागरिकता वितरण, तस्विर सहितको मतदाता नामावली दर्ता लगायतका सेवा उपलब्ध गराइएको थियो । पत्रकार महासंघ पर्वतका सचिव गणेश गिरीले सञ्चालन गर्नुभएको कार्यक्रममा उपाध्यक्ष सिमा गर्बुजाले स्वागत गर्नुभएको थियो ।