शालीजाको ठोट्नेरीमा खानेपानी आयोजना निर्माण

  • ९ जेष्ठ २०७६, बिहीबार
  • 1957 पटक पढिएको

बेनी ९ जेठ । जलजला गाउँपालिका ६ शालीजाको ठोट्नेरीमा एक घर एक धारा सहितको खानेपानी आयोजना निर्माण भएको छ । गाउँपालिकाका अन्तरगत सञ्चालित पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना मार्फत निर्माण भएको ठोट्नेरी खानेपानी तथा सरसफाई आयोजनाबाट ६२ घरधुरी लाभान्वित भएका छन् ।

६२ घरमा निजी र दुई वटा संस्थागत गरि ६४ वटा धारा मार्फत घरघरमा खानेपानी वितरण गरिएको गाउँपालिकाका परियोजना संयोजक देवराज पुरीले जानकारी दिनुभयो । कुल ७६ लाख बीस हजार पाँच रुपैयाँको लागतमा आयोजना निर्माण भएको हो । नेपाल सरकारको २२ लाख ५० हजार ७०८, फिनल्याड सरकारको २२ लाख ५० हजार ७०८, उपभोक्ताको २३ लाख ५७ हजार ४१३ रुपैयाँ बराबरको श्रमदान र गाउँपालिकाको सात लाख ६२ हजार १७६ रुपैयाँ अनुदानमा आयोजना निर्माण भएको संयोजक पुरीले बताउनुभयो ।

नेपालका लागि फिनल्याडका राजदुत प्रिती अन्टीनेनको प्रमुख आतिथ्यतामा जेठ ६ गते खानेपानी आयोजनाको उद्घाटन र शालीजालाई पूर्ण सरसफाई वडा घोषणा गरिएको थियो । आधारभूत खानेपानी र सरसफाईका सूचकहरु पुरा भएको आधारमा पूर्ण सरसफाइ घोषणा गरिएको हो । वडा अध्यक्ष हमबहादुर फगामीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल लगायत जनप्रतिनिधि, परियोजनाका प्रतिनिधि र स्थानीयबासीहरुको उपस्थिती रहेको थियो ।