दुई बालबालिकाले म्याग्दी बालगृहमा आश्रय पाए

  • ८ जेष्ठ २०७६, बुधबार
  • 2537 पटक पढिएको

बेनी ८ जेठ । अनाथ तथा समस्यामा परेका दुई जना बालबालिकाले बेनीमा रहेको म्याग्दी बालगृहमा आश्रय पाएका छन् । मालिका गाउँपालिका ५ देविस्थानकी ६ वर्षीया मनिषा सुनार र मंगला गाउँपालिका १ पूर्णगाउँका ८ वर्षीय इन्द्रबहादुर भण्डारीलाई मंगलबारदेखि नेपाल बाल संगठनद्धारा सञ्चालित बालगृहमा आश्रय दिइएको हो ।

सुनारका बुवाको मृत्यु भएको र आमा अशक्त हुनुहुन्छ । विपन्न समुदायका भण्डारीका बुवा र आमा दुवै अपाङ्ग छन् । वडा, गाउँपालिकाको सिफासिर र जिल्ला बालकल्याण समितिको निर्णय अनुसार दुई बालबालिकालाई आश्रय दिइएको नेपाल बाल संगठन म्याग्दीका सभापति नेत्रबहादुर महतले बताउनुभयो ।

म्याग्दी बालगृहमा हाल १३ जना अनाथ, असाहय र समस्यामा परेका बालबालिकाले आश्रय पाएका छन् । धवलागिरी क्षेत्रका एक मात्र बालगृहमा बालबालिकाको चाप बढेपनि क्षमताले थेग्न नसकेपछि राख्न नसकिएको महतले बताउनुभयो । बालगृहको क्षमता वृद्धीका लागि पूर्वाधार थप गर्न आर्थिक स्रोत जुटाउने अभियानमा लागेको संगठनले जनाएको छ । यस वर्ष बेनी नगरपालिकाको पाँच लाख रुपैयाँ अनुदान सहयोगमा दुई वटा भान्छा कोठा र स्टोरको भवन निर्माण गरिएको छ ।