नदी नियन्त्रण योजना निर्माण

  • ६ जेष्ठ २०७६, सोमबार
  • 1869 पटक पढिएको

मराङ ६ जेठ । म्याग्दीको धवलागिरी गाउँपालिका ६ मराङको बेशीमा नदी नियन्त्रण योजना निर्माण भएको छ । गाउँपालिका र संघीय सरकारको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको सहयोगमा बेशीको ठूलो खोला र सानो खोलामा नदी नियन्त्रण योजना निर्माण भएको हो ।


बस्ती र खेतीयोग्य जमिनलाई कटानबाट जोगाउनका लागि जोखिमयुक्त ठाउँमा १८१ जान तारजाली ग्यावियन पर्खाल निर्माण गरेको उपभोक्ता समितिका अध्यक्ष श्रीप्रसाद गर्बुजाले बताउनुभयो ।
सांसद भुपेन्द्रबहादुर थापाको सिफारिसमा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम मार्फत बिनियोजन भएको १२ लाख रुपैयाँबाट १२५ थान र गाउँपालिकाले बिनियोजन गरेको तीन लाख रुपैयाँ बाट ४६ थान ग्यावियन पर्खाल लगाइएको छ । योजना निर्माणका लागि उपभोक्ताहरुले एक लाख २६ हजार रुपैयाँ बराबरको श्रमदान गरेका थिए ।

गत भदौ अन्तिम साता मराङको ठूलो र सानो खोलामा आएको बाढीले झोलुङ्गे पुल र तटीय क्षेत्रमा खेतीयोग्य जमिन कटान गरेको थियो । नदी नियन्त्रणका साथै झोलुङ्गे पुल पनि निर्माण भैरहेको वडा अध्यक्ष राजाराम सुवेदीले बताउनुभयो । मराङ, मल्कवाङ र रघुगंगा गाउँपालिकाको कुइनेको केन्द्र बनेको बेशीमा सडक सुबिधा पुगेसंगै बस्ती विस्तार हुने क्रम बढेको छ ।