बेनीमा २६४३ औ लुम्बीनी दिवस

  • २ जेष्ठ २०७६, बिहीबार
  • 1855 पटक पढिएको

बेनी २ जेठ । बेनीमा बिहीबारदेखि विबिध कार्यक्रम सहित २६४३ औ वुद्ध जयन्ती तथा लुम्बिनी दिवस मनाउन सुरु भएको छ । भगवान गौतम वुद्धको जन्मदिनको अवसरमा बुद्ध जयन्ति तथा लुम्बीनी दिवस मुल समारोह समिति म्याग्दीको आयोजनामा त्रिदिवसीय कार्यक्रम सहित दिवस मनाउन सुरु गरिएको हो ।


दिवसको पहिलो दिन बिहीबार बेनी अस्पतालमा मगर वौद्ध सेवा समाजको संयोजनमा ३० जना बिरामीहरुलाई स्वास्थ्य लाभको कामना सहित फलफूल वितरण गरिएको म्याग्दी वौद्ध संघका अध्यक्ष यजनलाल शाक्यले बताउनुभयो । यसैगरी युवा बौद्ध संघको संयोजनमा वुद्ध बिहारमा विद्यार्थीहरुका लागि वुद्ध शिक्षा विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । बेनीका आठ वटा विद्यालयका ६/६ जना विद्यार्थीहरुलाई भिक्षु भद्दन्त सम्यक सम्वोधि प्राणपुत्रले वुद्ध शिक्षाको बारेमा प्रवचन दिनुभएको युवा वौद्ध संघका अध्यक्ष सचिन शाक्यले बताउनुभयो ।


जेठ ३ गते महिला बौद्ध संघको संयोजकत्वमा बुद्ध पुजा तथा धर्मदेशना, जेठ ४ गते युवा बौद्ध संघ र नेपाल मगर विद्याथीं संघको संयोजकत्वमा शान्ति पदयात्रा, म्याग्दी बौद्ध संघको संयोजकत्वमा मुल समारोह, नेपाल मगर संघ र नेपाल छन्त्याल संघ बेनीको संयोजकत्वमा रथयात्रा र महिला बौद्ध संघको संयोजकत्वमा दिपावली गर्ने कार्यक्रम तय भएको छ ।
बुद्धको जन्मथलो नेपाल हो र उनको ज्ञानलाई आत्मसाथ गर्दै बुद्धका सन्देशहरुलाई समाजमा प्रवाह गर्ने लक्ष्य सहित कार्यक्रम तय भएको म्याग्दी वौद्ध संघका सचिव याम शाक्यले बताउनुभयो ।