विद्यार्थीलाई दिवा खाजा

  • ३१ बैशाख २०७६, मंगलवार
  • 1885 पटक पढिएको

 

बेनी १ जेठ । मालिका गाउँपालिका १ निस्कोटको खहरेमा रहेको सिद्ध आधारभूत विद्यालयका विद्यार्थीलाई दिवा खाजाको व्यवस्थाका लागि एक संस्थाले सहयोग गरेको छ ।पोखराको साहरा प्रतिष्ठान नेपालले बालकक्षा देखि कक्षा तीन सम्मका ५३ जना विद्यार्थीहरुलाई एक वर्षका लागि दिवा खाजाको व्यवस्था गर्न सहयोग गरेको हो । संस्थाका प्रबन्ध निर्देशक डिवी विश्वकर्मा र विद्यालयबीच सोमबार प्रतिविद्यार्थी दैनिक १५ रुपैयाँका दरले मासिक सत्र हजार ५०० र दश महिनाको एक लाख ७५ हजार रुपैयाँ सहयोग उपलब्ध गराउने सम्झौता भएको छ ।


सम्पन्न वर्गकालाई पचास, मध्यमलाई पच्चिस र विपन्नलाई शत प्रतिशत निशूल्क हुने गरि खाजा उपलब्ध गराइने प्रअ मोतिराज गौतमले बताउनुभयो । यसअघि गत वर्षदेखि विद्यालय र अभिभावकहरुको पहलमा लागू गरिएको दिवा खाजा कार्यक्रम विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन, नियमित विद्यालय उपस्थित हुने, पढ्ने वातावरण बनाउन र शैक्षिक गुणस्तरमा सुधारका लागि सहयोग मिलेको छ ।

गरिव विपन्न समूदायका बालबालिकाहरुलाई दिवा खाजा कार्यक्रमले सहयोग गरेको छ । साहरा प्रतिष्ठानले यसअघि दिच्याम र निस्कोटका दुई जना विद्यार्थीलाई एसइई सम्मको शिक्षा हासिल गर्न सहयोग गरेको थियो । अनाथ, अशाहय, विपन्न र कठिन परिस्थितीमा रहेका बालबालिकाहरुको शिक्षा, स्वास्थ्य र आवासको क्षेत्रमा संस्थाले काम गर्दै आएको प्रबन्ध निर्देशक विश्वकर्माले बताउनुभयो ।

कक्षा ८ सम्मको पठनपाठन हुने सिद्ध आधारभूत विद्यालयले कक्षा २ सम्म अंग्रेजी माध्यमबाट पठनपाठन सञ्चालन गरेको छ । २०३ जना विद्यार्थी छन् । छ जना दरबन्दी र तीन जना निजी स्रोतका शिक्षक छन् । प्रा.वि तहको अनुमती पाएको विद्यालयमा ६ देखि ८ सम्म निजी स्रोतबाट सञ्चालन गरिएको हो । वि.स २०६६ देखि समुदाय र अभिभावकको सहयोगमा ६–८ तहको पठनपाठन सञ्चालन गरिदै आएको छ ।