मालिकामा शिक्षा, स्वास्थ्य र सडकलाई प्राथमिकता : अध्यक्ष रोका

  • ३० बैशाख २०७६, सोमबार
  • धिरन खत्री
  • 4221 पटक पढिएको

म्याग्दी, ३० बैशाख । आगामी आर्थिक बर्ष २०७६/०७७ मा मालिका गाउँपालिकाले शिक्षा, स्वास्थ्य र सडकलाई प्राथमिकता दिएर योजना निर्माणको तयारी गरेको छ । स्थानीय तहका योजना बहसमा सहभागी हुँदै मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले जनतालाई सहज रुपमा गुणस्तर र निःशुल्क शिक्षा र स्वास्थ्य उपलब्ध गराउन गाउँपालिकाको केन्द्रदेखि प्रत्येक वडामा सडक पहुँच विस्तारमा प्राथमिकता दिएको बताए ।

समृद्धिको आधार पर्यटन र कृषि भएको मालिकामा पूर्वाधारतर्फ सडक निर्माण र स्तरोन्नतीमा तिव्रता दिएको छ । पर्यटनलाई प्राथमिकता दिदै गाउँपालिकाको प्रमुख पर्यटकियस्थलमा मालिका धुरीमा सडकको ट्याक पु¥याउने कामको थालनी गरेको छ । पर्यटन विकास लागि थप पुर्वाधार निर्माणलाई प्राथमिकता दिदै डिपिआर तयारी गर्ने योजना आगामी आर्थिक बर्षमा गरिने छ । कृषि, पशुपालन, पर्यटन र खानी लगायतका सम्भावनाहरुको पहिचान, पूर्वाधार निर्माण, सामाजिक जागरण, रोजगारी सिर्जनासंगै सार्वजनीक सेवा प्रवाह र सञ्चारको पहुँच वृद्धी लगायतका योजना प्राथमिकतामा रहने गाउँपालिका अध्यक्ष रोका बताउँछन् ।
गाउँपालिकाले आन्तरिक आम्दानीका स्रोतहरुको पहिचान, सम्भावनाको उजागर, जनसहभागिता, विषयगत कार्यालयको पूर्वाधार निर्माण, विद्यूत र सञ्चारको पहुँच विस्तार, शिक्षा र स्वास्थ्यको गुणस्तर सुधार, प्रत्येक घरमा खानेपानीको सुबिधा विस्तार संगै गौरवका योजनालाई प्रभावकारी बनाउनका लागि गाउँपालिकाले संघिय र प्रदेश सरकारसंग समन्वय गरेर विकासका योजनाहरु अघि बढाएको उनले जानकारी दिए ।

चालु आर्थिक बर्षमा गाउँपालिकाले केन्द्र देखि हरेक वडा कार्यालय पुग्ने सडकलाई स्तरोन्नती गर्ने योजनालाई प्राथमिकतामा राखेर काम गरिरहेको छ । वडा नम्वर १, ५ र ७ मा केन्द्रिय विधुत विस्तारलाई तिव्रता दिइएको छ । दरवाङ बजारमा फोहोर ब्यवस्थापन लागि ट्याक्टर खरिद गरि फोहोर ब्यवस्थापनका कार्य अघि बढाईएको छ भने गाउँपालिकालाई प्रविधिमैत्री बनाउन कार्यपालिकाको कार्यालयमा डिजिटल नागरिक वडापत्र जडान गरिएको अध्यक्ष रोकाले जानकारी दिए । साथै खेलकुदलाई प्राथमकिता दिदै गाउँपालिकाले छ्यारछ्यारेमा क्षेत्रीयस्तरको खेलकुद मैदान निर्माणसुरु गर्ने योजना प्राथमिकता राखेको छ ।
गाउँपालिकाको सबै वडामा कच्चि सडक पुगेपनी भौगोलिक बिकटताका कारण नियमित रुपमा सवारी साधन सञ्चालन हुन नसक्नु, सञ्चार, विद्युत, उच्च शिक्षा, स्वास्थ्य, खानेपानी सुबिधाको सबै नागरिकमा सहज पहुँच नपुग्नु विकासमा प्रमुख चुनौती रहेको उनले जानकारी दिए । गाउँपालिकामा गौरवका योजनालाई प्रभावकारी कार्यान्वयनका लािग दक्ष जनशक्ति तथा प्रविधिकको अभाव, समायोजनले कर्मचारी अभाव र स्पष्ट कानुनको अभावनै प्रमुख चुनौती रहेको रोकाका अनुभव छ ।
वैशाख दोस्रो सातासम्म चालु आर्थिक बर्षमा सञ्चालित ७० प्रतिशत योजना सम्पन्न गरेको मालिकाले बाँकी योजना जेठ मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य राखेको छ । टुक्रे तथा साना योजना कार्यान्वयनमा उपभोक्ता समिति प्रभावकारी देखिएपनी बजेट गुणस्तरीय काम हुन नसकेको कारण गाउँपालिकाले ठुला योजनालाई ठेक्का मार्फत सञ्चालन गर्ने योजना बनाएको छ । आगामी बर्षको योजना तर्जुमाको तयारीमा जुटेको मालिका गाउँपालिकाले शिक्षा, स्वास्थ्य र सडकसंगै रोजगारी सिर्जना हुने योजनाहरुलाई प्राथमिकतामा राख्ने जनाएको छ ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l