काँग्रेस गुर्जा गाउँ इकाइ सभापती र जिसस सदस्य नेकपामा प्रवेश
- २८ बैशाख २०७६, शनिबार
- 2637 पटक पढिएको
म्याग्दी, २८ वैशाख । धवलागिरी गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गर्नेको लहर चलेको छ । शनिवार नेकपा धवलागिरीको सपथ ग्रहण समारोहमा धवलागिरी गाउँपालिका–१ गुर्जाबाट नेपाली काँग्रेसका गाउँ इकाई सभापती प्रेमबहादुर छन्त्याल र राप्रपाबाट जिल्ला समन्वय समितिको सदस्यमा निर्वाचित सुकमायाँ छन्त्याल नेकपामा प्रवेश गरेको नेकपा म्याग्दीले जनाएको छ ।
सो कार्यक्रममा नेपाली काँग्रेस ताकम गाउँ इकाइ सदस्य धनबहादुर मगर र राप्रपा लुलाङका तिलाराम नेपाली समेत नेकपा प्रवेश गरेका छन् । विकास र समृद्धिको अगुवाई नेकपाको नेतृत्वमा मात्रै सम्भव देखिएको भन्दै नेपाली काँग्रेस र राप्रपाबाट नेकपामा प्रवेश गरेकाहरुलाई नेकपा म्याग्दीका जिल्ला सचिब हरिकृष्ण श्रेष्ठ, नेकपा धवलागिरीका अध्यक्ष खुमनाथ सुवेदी, जिल्ला सदस्य रेशम जुग्जाली लगायतले पार्टी सदस्यता प्रदान गरि स्वागत गर्नुभएको थियो ।
नेकपा धवलागिरीका अध्यक्ष सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नेकपा म्याग्दीका जिल्ला सचिब श्रेष्ठले नेकपा नेतृत्वको वर्तमान सरकारले विकास र समृद्धिको आधार तयार गरिसकेको बताउँदै प्रतिपक्ष दलहरुले नकरात्मक भ्रम सिजर्ना गर्न खोजेको भन्दै सचेत रहन नेता तथा कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा नेकपा जिल्ला सदस्य रेशम जुग्जाली, धवलागिरी गाउँपालिकाका उपाध्यक्ष एवम नेकपाका युवा नेता रेशम छन्त्याल लगायतले मन्तव्य राख्नुभएको थियो भने धवलागिरी कमिटीका सचिब देउप्रसाद छन्त्यालले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो । सो अवसरमा नवगठित नेकपाको ४९ सदस्यीय धवलागिरी गाउँपालिका स्तरीय कमिटीलाई जिल्ला सचिब श्रेष्ठले सपथ ग्रहण गराउनुभएको थियो ।