गरिमाद्धारा शैक्षिक साम्रागी वितरण

  • २८ बैशाख २०७६, शनिबार
  • 2459 पटक पढिएको

 

बेनी २८ बैशाख । गरिमा विकास बैंकको दरवाङ शाखाले मालिका गाउँपालिका–७ बिममा रहेको किसानी माविका विद्यार्थीलाई शैक्षिक सामग्री र पोशाक वितरण गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शुक्रबार विद्यालयमा आयोजित कार्यक्रममा गरिब तथा जेहेन्दार १६ जना विद्यार्थीलाई पोशाक, झोला र स्टेशनरी वितरण गरिएको शाखाकी कर्मचारी पुनम पुनले जानकारी दिनुभयो ।

गाउँपालिका उपाध्यक्ष खरमायाँ विटालुको प्रमुख आथित्यतामा आयोजित कार्यक्रममा कक्षा १ देखि १० का १२ जना र प्राविधिक शिक्षा अन्तरगत अध्ययरत ४ जना विद्यार्थीलाई प्रति विद्यार्थी २ हजार बराबरको सहयोग हस्तान्तरण गरिएको शाखा प्रबन्धक नारायणहरी शर्माले बताउनुभयो ।

पश्चिम म्याग्दीको मालिका र धौलागिरी गाउँपालिकालाई कार्यक्षेत्र बनाएर विस्तार गरिएको गरिमाले सामाजिक उत्तरदाहित्वसँगै वित्तिय साक्षरता कार्यक्रम सहित सामाजिक सुरक्षा भत्तालाई घरदैलोमै पुगेर वितरण गर्ने गरेको बताउनुभयो ।

उपाध्यक्ष विटालुले गरिमाले गाउँपालिकासँग सहकार्य गरी वडास्तरमै पुगेर सेवा दिइरहेको बताउनुभयो । कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कालिप्रसाद जुग्जाली, प्रधानध्यापक जंगबहादुर जुग्जाली लगायतको उपस्थिती थियो ।

म्याग्दीको सदरमुकाम बेनी सहित मंगला, मालिका र अन्नपूर्ण गाउँपालिकाका शाखा रहेको बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य, शिक्षा, वातावरण लगायतका विभिन्न क्षेत्रमा सहयोग सहयोग गदैं आइरहेको छ ।