रघुगंगाले छान्यो पर्यटकीय र साँस्कृतिक क्षेत्र

  • २७ बैशाख २०७६, शुक्रबार
  • कमल खत्री
  • 4431 पटक पढिएको

म्याग्दी, २७ वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिकाले पर्यटकीय र साँस्कृतिक क्षेत्र घोषणा गरेको छ । गलेश्वर देखि रुइसे हुँदै धवलागिरी आइसफल, रिखार र धवलागिरी सेञ्चुरी पदमार्ग क्षेत्रलाई पर्यटकीय र चिमखोलालाई साँस्कृतिक क्षेत्र तोकिएको छ । साँस्कृतिक क्षेत्र घोषणा भएको चिमखोला थालीनाचको उद्गम थलो मानिन्छ ।

रुइसे हुँदै धवलागिरी आइसफल क्षेत्र नेपाल सरकारको पर्यटन मन्त्रालयले १०१ नयाँ पर्यटकीय गन्तव्यमा सुचिकृत क्षेत्र हो । झिँबाट सुरु हुने धवलागिरि सेञ्चुरी पदमार्गबाट पाखापानी, कुईनेमंगलेको घ्यासीखर्क हुँदै धवलागिरी आधारशिविर जाने गरिन्छ । पर्यटन र साँस्कृतिक क्षेत्रको योजनाबद्ध विकासको लागि पर्यटकीय र साँस्कृतिक क्षेत्र घोषणा गरिएको गाउँपालिकाका अध्यक्ष भब बहादुर भण्डारीले जानकारी दिनुभयो । गाउँपालिकाले रुइसे क्षेत्रको विस्तृत अध्ययन गर्ने निर्णय समेत गरेको छ भने संस्कृति प्रवद्र्धनको लागि ५ लाख र पर्यटन प्रवद्र्धनको लागि ५ लाख बजेट विनियोजन गरेको जनाएको छ ।

पर्यटकीय र साँस्कृतिक क्षेत्र घोषणा गर्ने रघुगंगा म्याग्दीमा पहिलो स्थानीय तह हो । स्थानीय सरकार सञ्चालन ऐन दफा ९ को उपदफा ३ बमोजिम गाउँपालिकाको प्रमुख गन्तव्य र साँस्कृतिक पहिचानको महत्वपूर्ण क्षेत्रलाई समेटेर पर्यटकीय र साँस्कृतिक क्षेत्र घोषणा गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रमेश थापाले जानकारी दिनुभयो ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l