चित्रे–घोडेपानी सडक निर्माण सुरु
- २७ बैशाख २०७६, शुक्रबार
- 2515 पटक पढिएको
बेनी २७ बैशाख । म्याग्दीको पर्यटकीय स्थल घोडेपानी जोड्ने सडक निर्माण सुरु भएको छ । अन्नपूर्ण गाउँपालिकाको ६ नम्बर वडामा पर्ने चित्रे देखि सोही वडाको घोडेपानी जोड्ने सडकको ट्याक निर्माणको काम सुरु भएको हो ।गण्डकी प्रदेश सरकार र गाउँपालिकाको सहयोगमा सडक निर्माणको काम सुरु गरिएको उपभोक्ता समितिका अध्यक्ष बिरेन गर्बुजा पुनले बताए । सडक निर्माणका लागि प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुन र सांसद बिनोद केसीको पहलमा पूर्वाधार विकास कार्यालय म्याग्दी मार्फत कार्यान्वयन हुने गरि चालू आर्थिक वर्षमा पचास लाख रुपैयाँ बिनियोजन भएको छ ।
यसैगरी अन्नपूर्ण गाउँपालिकाले पन्ध्र लाख रुपैयाँ बिनियोजन गरेको छ । प्रदेशले बिनियोजन गरेको र पन्ध्र लाख रुपैयाँ अपुग भएमा गाउँपालिकाबाट थप बजेटको समेत व्यवस्था गरेर चालू आर्थिक वर्षभित्रनै सडकलाई घोडेपानी पु¥याउने वडा अध्यक्ष कृष्णप्रसाद बरुवालले बताएका थिए ।
स्थानीय तहका जनप्रतिनिधि चयन भएसंगै सडक निर्माणको तयारी भएपनि चित्रे र घोडेपानीका बासिन्दाबिच कताबाट सडक लैजाने भन्ने विषयमा सहमति नहुँदा काम हुन सकेको थिएन् । गत वर्ष गाउँपालिकाले बिनियोजन गरेको बजेट समेत खर्च हुन सकेको थिएन् ।
गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर पुनको उपस्थितीमा बुधबार चित्रेमा भएको दुई गाउँका बासिन्दाको बैठकबाट रुटमा सहमति भएपछि काम सुरु गरिएको हो । चित्रेको खेलमैदानदेखि अन्नपूर्ण होटेलको पछाडीबाट दुवै गाउँका बासिन्दाको सहमती भएको र पूर्वाधार विकास कार्यायका प्राबिधिकले तयार पारेको नक्सा अनुसार घोडेपानीमा सडक पु¥याइने भएको छ ।
चार किलोमिटर छ सय मिटर दुरीको सडक सात मिटर फराकिलो हुनेछ । सडक निर्माण भएपछि घोडेपानीका बासिन्दाका साथै पर्यटकलाई आवत जावत, ढुवानी र निकासीमा सहज हुने अपेक्षा गरिएको छ । हाल पोखरेबगरदेखि चित्रेसम्म सडक सुबिधा छ । चित्रेदेखि घोडेपानीमा ढुवानीका लागि घोडा, खच्चड र भरियामा निर्भर हुनुपर्छ ।
घोडेपानीमा दैनिक उपभोग्य र निर्माण सामग्री ढुवानीमा धेरै खर्च हुने गरेको छ । पर्यटकीय पदमार्गलाई असर नपुग्ने र नमासिने गरि सडक निर्माण गरिने भएको छ । सडक सुबिधा भएपछि घोडेपानी जाने आउने पर्यटकहरुलाई समेत सुबिधा पुग्ने भएको छ ।
राष्ट्रिय पुननिर्माण प्राधिकरणले गाउँपालिकाको केन्द्र पोखरेबगर देखि चित्रे जोड्ने १८ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य सहित आयोजना सञ्चालन गरेको छ । पोखरेबगरदेखि दुरबिनडाँडा घार हुदै शिख सम्म सडक फराकिलो बनाइएको छ ।
प्राधिकरणले हाल कच्चि, साँघुरो र ग्रेड नमिलेको अवस्थामा रहेको सडकलाई कालोपत्रे गर्न आयोजना सञ्चालन गरेको हो । सडकलाई फराकीलो बनाएर ग्राभेल, ढलान, ग्यावियन पर्खाल, मेसीनरी पर्खाल, ह्युम पाइप, कल्भर्ट, सोलीङ र कालोपत्रे गरिने आयोजना प्रमुख शिवराम गेलालले जानकारी दिए ।
३.५ किलोमिटरमा ढलान र बाँकी सबैमा कालोपत्रे हुने प्रमुख गेलालले बताउनुभयो । २०७५ मंसिर ९ गते २७ करोड ९१ लाख ३५ हजार २२० रुपैयाँमा ठेक्का सम्झौता गरेको मोतीदान–जयमाता जेभीले प्रारम्भिक चरणमा सडक चक्लाउने र पर्खाल लगाउने कामलाई तिब्रता दिएको छ । २०७७ जेठ २२ सम्म सम्पन्न गर्ने लक्ष्य सहित गत मंसिर १५ गते प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापाले शिलन्यास गरेका थिए ।