ट्राफिकद्धारा चालक र विद्यार्थीलाई प्रशिक्षण

  • २६ बैशाख २०७६, बिहीबार
  • 1801 पटक पढिएको

बेनी २६ बैशाख । जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीले समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत म्याग्दीका विभिन्न ठाउँमा सवारी चालक र विद्यार्थीहरुलाई प्रशिक्षण दिएको छ ।दुर्घटना न्युनीकरणका लागि जनचेतना अभिवृद्धी गर्ने उद्देश्यले बेनीमा ट्याक्सी चालक, बेनपा ९ को गलेश्वर आदर्श बोर्डिङ र गलेश्वर माविका विद्यार्थीहरुलाई प्रशिक्षण दिइएको कार्यालयले जनाएको छ ।

बेनीको म्याग्दी ट्याक्सी यातायात व्यवसायी प्रा.लीका कार्यकारी प्रमुख भोजबहादुर थापाको अध्यक्षतामा बिहीबार प्रा.लीको कार्यालयमा भएको कार्यक्रममा ४५ जना ट्याक्सी चालकहरु सहभागि थिए ।कार्यालयका प्रमुख प्रहरी सहायक निरिक्षक मित्रलाल ढकालले सवारी दुर्घटनाका कारण, ट्राफिक संकेत चिन्ह, सडक प्रयोग गर्दा तथा सवारी चलाउँदा अपनाउनुपर्ने तरिकाको विषयमा सहजिकरण गर्नुभएको थियो ।

यसैगरी तोरिपानीको गलेश्वर माविको ९ र १० मा अध्ययन गर्ने ८० जना विद्यार्थीहरुलाई वडा अध्यक्ष बेलबहादुर चोखालको प्रमुख आतिथ्यतामा सहजिकरण गरिएको थियो । यस्तै गलेश्वर आदर्श आवासीय मावि गलेश्वरका ८, ९ र १० कक्षाको ६५ जना विद्यार्थी र १० जना शिक्षक शिक्षिकाहरुलाई सहजिकरण गरिएको छ । प्रशिक्षणका साथै जानकारीमुलक पर्चा पम्पलेट समेत वितरण गरिएको थियो