गरिबीका कारण पढाइमा समस्या

  • २६ बैशाख २०७६, बिहीबार
  • 1895 पटक पढिएको

 

बेनी २६ बैशाख । म्याग्दीका एक बालकको परिवारको कमजोर आर्थिक अवस्थाका कारण पढाइलाई निरन्तरता दिन नसक्ने अवस्थामा पुगेका छन् । मालिका गाउँपालिका ६ दिच्यामका ८ वर्षीय सञ्जय सुनार कापी, कलम र शैक्षिक पोशाक किन्ने पैसाको अभावमा समस्यामा परेका हुन् ।

दुई वर्ष अघि अर्कै व्यक्तिसंग बिवाह गरेर भारत गएकी सञ्जयकी आमा टनकुमारी सम्र्पक बिहीन छिन् । उनका बुवाको पहिचान हुन सकेको छैन् । बृद्ध अवस्थाका बाजे डिलबहादुर र बज्यै टकसरा बिकले सञ्जयलाई पालनपोषण गर्दै आएका छन् । जग्गाजमिन नभएको र आर्थिक अवस्था कमजोर भएका डिलबहादुर र टकसरा दम्पत्ती ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्दै आएका थिए । वृद्ध अवस्थाले च्याप्दै गएपछि उनिहरु पनि ज्याला मजदुर गर्न नसक्ने अवस्थामा छन् ।

पारिवारिक र आर्थिक कारण सञ्जयलाई नियमित विद्यालय आएर पढाइलाई निरन्तरता दिन समस्या भएको भगवती आधारभूत विद्यालय दिच्यामका प्रअ जगतबहादुर खत्रीले बताए । सञ्जय सो विद्यालयको कक्षा २ का विद्यार्थी हुन् । कापी, कलम र पोशाक किन्ने पैसा नहुँदा नातीलाई पढाउन समस्या भएको डिलबहादुरले बताए ।

गत वर्ष प्रअ खत्री र दरवाङका व्यवसायी सुन्दर अधिकारीले कापी कलम र पोशाकको व्यवस्था गरिदिएका थिए । सुनारको पढाईका लागि शैक्षिक अभिभावकको खोजी गरिएको प्रअ खत्रीले बताए ।

कसैको सहयोग पाएमा सञ्जयले पढाइलाई निरन्तरता दिने बताएका छन् । घरायसी समस्याका कारण केही समय अघि उनि घरबाट भागेर कामको खोजीमा बेनी आएका थिए । बेनीको बसपार्कमा बेवारिसे अवस्थामा भेटिएका उनलाई प्रहरीले परिवारको जिम्मा लगाएका थिए ।