जनप्रतिनिधिको पारिश्रमिक क्याम्पसलाई सहयोग

  • २५ बैशाख २०७६, बुधबार
  • 3035 पटक पढिएको

बाबियाचौर २५ बैशाख । म्याग्दीको मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले जनप्रतिनिधिको हैसियतमा प्राप्त गरेको पारिश्रमिक वापतको रकम सामुदायिक क्याम्पसलाई उपलब्ध गराएका छन् ।


गाउँपालिकाको केन्द्र बाबियाचौरमा सञ्चालित मंगला शिक्षा क्याम्पसलाई अध्यक्ष रोकाले दुई लाख रुपैयाँ उपलब्ध गराएका हुन् । यसअघि पनि अध्यक्ष रोकाले क्याम्पसलाई व्यक्तिगत रुपमा छ लाख रुपैयाँ सहयोग गरेका थिए ।

बिधान अनुसार अध्यक्ष रोकालाई मानार्थ संरक्षक सदस्यता प्रदान गरिएको सञ्चालक समितिका अध्यक्ष श्रीराम पौडेलले बताए । सोही अवसरमा बाबियाचौरका दिपक जिसीले क्याम्पसलाई पचास हजार रुपैयाँ सहयोग गरेका थिए ।

रोका र जिसीले सञ्चालक समितिका अध्यक्ष पौडेल, क्याम्पस प्रमुख काशिराज गौतम, पूर्व अध्यक्ष तथा सल्लाहकार चन्द्रप्रसाद बुढाथोकी र काठमाडौ सम्पर्क समितिका संयोजक टंकप्रसाद बुढाथोकीलाई रकम हस्तान्तरण गरेका थिए ।

शिक्षा शास्त्र संकायमा स्नातक तहको पठनपाठन हुने मंगला शिक्षा क्याम्पसमा बाबियाचौर र आसपासका गाउँका ६० जना विद्यार्थी पढ्छन् । प्राप्त सहयोग क्याम्पसका प्राध्यापकहरुको तलबभत्तामा परिचालन हुने अध्यक्ष पौडेलले बताए ।
अध्यक्ष रोकाले यसअघि गत मंसिरमा मंगला गाउँपालिका ५ सिरकुममा रहेको किसानी आधारभूत विद्यालयलाई तीन लाख पचास हजार रुपैयाँ सहयोग गरेका थिए । पूर्व शिक्षक समेत रहेका अध्यक्ष रोकाले जनप्रतिनिधिको हैसियतमा तलब वापत प्राप्त हुने सुबिधा सहयोग गर्ने घोषणा गरेका थिए ।