रघुगंगामा दुई गाउँपालिका बनाउन माग गर्ने कार्यापालिका बैठकको निर्णय, योजना तर्जुमाको ७ बुँदे मार्गदर्शन तयार

  • २४ बैशाख २०७६, मंगलवार
  • 3394 पटक पढिएको

म्याग्दी २४ वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिकालाई दुई गाउँपालिका बनाउन माग गर्ने निर्णय भएको छ । आईतवार बसेको गाउँपालिकाको कार्यपालिका बैठकले हिमाली जिल्लाको मान्यता प्राप्त गरेको र गाउँपालिकामा समावेश भुगोल प्रशासनिक सुगमता मिलाउन कठिन भएकाले अहिलेको गाउँपालिकालाई २ गाउँपालिका बनाउन माग गर्ने निर्णय भएको गाउँपालिकाका अध्यक्ष भव बहादुर भण्डारीले जानकारी दिनुभयो ।

बेगमा १, भगवती र पिप्लेमा २/२, दग्नाममा १ र चिमखोलामा १ गरि ७ वटा वडा बनाएर एक गाउँपालिका र कुईनेमंगले र पाखापानीमा २÷२ वडा र झिँमा एक वडा गरि ५ वडाको छुट्टै गाउँपालिका बनाउने गरि प्रस्ताब गरिएको छ । हिमाली जिल्ला कायम भएको, भौगोलिक विकटता, प्रशासनिक सुगमता, जनसख्ंया, जनताको आबश्यकता लगायतको आधारमा थप गाउँपालिकाको माग गर्ने निर्णय भएको गाउँपालिकाले जनाएको छ । कार्यपालिका बैठकबाट भएको निर्णयलाई संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाईने र आगामी बस्ने गाउँसभामा समेत अनुमोदनको लागि पेश गरिने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रमेश थापाले जानकारी दिनुभयो ।

कार्यपालिका बैठकले गाउँपालिकाले पिप्ले र झिँमा उठाउँदै आएको पटके सवारी कर आगामी जेठ १ गतेबाट पूर्ण रुपमा हटाउने , गाउँपालिका भित्र रहेका विद्यालय र अन्य कार्यालयहरुको व्यवस्थापन परिक्षणको लागि प्रमुख प्रशासकिय अधिकृत रमेश थापाको संयोजकत्वमा व्यवस्थापन परिक्षण समिति गठन गरेको छ । वैशाख २८ देखि जेठ ७ सम्म वडास्तरबाट योजना छनौट गरिसक्ने निर्णय भएको छ भने योजना छनौटको लागि ७ बुँदे मार्गदर्शन समेत तयार गरेको छ । गाउँपालिकाले मार्गदर्शनमा कम्पतीमा रु २५ लाख बजेटको एक वडा एक गौरबको आयोजना छनौट गर्ने, वडाका योजना छनौटमा प्रशासनिक र खरिदजन्य योजनाहरु समावेश नगर्ने, टुक्रे योजना नबनाउने, योजना बनाउँदा केन्द्र र प्रदेश सरकारको नीति अनुकुल बनाउने लगायतका बुँदाहरु समावेश गरिएका छन् ।

योजना छनौटमा आर्थिक, पूर्वाधार, सामाजिक, बन वातावरण तथा विपद व्यवस्थापन, संस्थागत विकास तथा सेवा प्रवाह गरि ५ क्षेत्रगत योजनाहरुलाई समावेश गराउन र योजना छनौटमा सहभागतिा र समावेशीता झल्कनुपर्ने मार्गदर्शनमा समेटीएको छ । गौरबको योजनालाई ठेक्का प्रकृया मार्फत कार्यान्वयनमा लैजाने गाउँपालिको नीति लिएको छ । चालु आर्थिक बर्षमा २६४ वटा योजना रहेको रघुगंगाले आगामी बर्ष टुक्रे योजनालाई अत्य गर्दै बढीमा १ सय वटा मात्रै योजना बनाउने योजना बनाएको गाउँपालिकाले एक वडा एक कृषि सम्भाव्यता अध्ययनको काम सकेर सोही बमोजिमको बजेट तर्जुमा गर्ने तयारी समेत थालेको छ ।

जेठ १५ गते भित्र योजना छनौट सकेर जेठभित्र नीति तथा कार्यक्रम र असार पहिलो साता गाउँसभा गरि बजेट बक्तव्य पेश गर्ने निर्णय भएको छ । रघुगंगाले यसै बर्ष नै अन्तर स्थानीय तहबिच बृहत अन्र्तक्रिया कार्यक्रम समेत गर्ने निर्णय गरेको छ । एक अर्का स्थानीय तहको अनुभव आदान प्रदानका लागि कार्यपालिका सदस्यहरु सम्मको सहभागीता रहने गरि बृहत अन्र्तक्रिया कार्यक्रम गर्न लागिएको प्रमुख प्रशासकिय अधिकृत थापाले जानकारी दिनुभयो । यसैबिच रघुगंगा गाउँपालिकाले पर्यटकीय र साँस्कृतिक क्षेत्र घोषणा गरेको छ ।
गलेश्वर देखि रुइसे हुँदै धवलागिरी आइसफल, रिखार र धवलागिरी सेञ्चुरी पदमार्ग क्षेत्रलाई पर्यटकीय र चिमखोलालाई साँस्कृतिक क्षेत्र तोकिएको छ । साँस्कृतिक क्षेत्र घोषणा भएको चिमखोला थालीनाचको उद्गम थलो मानिन्छ ।

पर्यटन र साँस्कृतिक क्षेत्रको योजनाबद्ध विकासको लागि क्षेत्र घोषणा गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले रुइसे क्षेत्रको विस्तृत अध्ययन गर्ने निर्णय गरेको छ भने संस्कृति प्रवद्र्धनको लागि ५ लाख र पर्यटन प्रवद्र्धनको लागि ५ लाख बजेट विनियोजन गरेको जनाएको छ ।