औलामा सडक

  • २३ बैशाख २०७६, सोमबार
  • 4061 पटक पढिएको

 

बेनी २३ बैशाख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ हिस्तानको औला गाउँ सडक सञ्जालमा जोडिएको छ । हिस्तानको दोसल्ले देखि औला जोड्ने सडक निर्माण भएपछि स्थानीयबासी उत्साहीत भएका छन् । अन्नपूर्ण गाउँपालिकाको आर्थिक सहयोगमा उपभोक्ता समिति मार्फत सडक निर्माण भएको हो । औलामा सडकसंगै सहज यातायात सुविधाको पहुँच पुगेको वडा अध्यक्ष गमबहादुर फगामीले बताए । यसअघि रिमा हुदै औलासम्म सडक पु¥याएपनि घुमाउरो तथा प्राबिधिक हिसाबले उपयुक्त नभएकाले यातायात सुबिधा पाउन सकेका थिएनन् ।


वडा अध्यक्ष फगामीका अनुसार दोसल्ले देखि औला जोड्ने सडक तीन किलोमिटर २०० मिटर छ । कम्तीमा चार मिटर फराकिलो सडक निर्माण गरिएकाले जिप, ट्याक्टर, मोटरसाइकल लगायतका सवारी साधन नियमित रुपमा आवत जावत गर्न सक्नेछन् । औलागाउँका करिब १८० घरधुरी लाभान्वित भएका छन । औलाका साथै रिमा, काफलडाँडा, राम्चे र नांगीका बासिन्दालाई पनि सुबिधा पुगेको छ । स्थानीयबासीलाई गाउँपालिकाको केन्द्र पोखरेबगर जान आउन सुबिधा पुगेको छ । यसैगरी गाउँमा उत्पादन भएको कृषि उपज निकासी, निर्माण तथा खाद्यान्न सामग्री ढुवानीमा पनि सहज भएको छ ।


सडक निर्माणका लागि अन्नपूर्ण गाउँपालिकाले चालू आर्थिक वर्ष २०७५÷७६ मा तीस लाख रुपैयाँ बिनियोजन गरेको थियो । उपभोक्ताको थप चार लाख रुपैयाँ बराबरको सहभागितामा सडकको ट्याक निर्माण गरिएको उपभोक्ता समितिका सचिव कुमबहादुर गर्बुजाले बताए । उनले सडकमा नाली र ग्यावीयन पर्खाल निर्माण गर्न योजना तथा बजेटको व्यवस्थापन गरिदिन गाउँपालिकालाई आग्रह गरेका थिए ।


सडकको शुक्रबार अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर पुनले उद्घाटन गरेका थिए । अध्यक्ष पुनले गाउँपालिकाकाका सडकमा बाह्ै महिना नियमिति रुपमा सवारी सञ्चालन हुने बनाउन पहल गरेको बताए । उनले प्रदेश सरकार मार्फत महभिरदेखि सडक स्तरोन्नतिको काम सुरु भएको जानकारी दिए । गाउँमा भित्रिएका विकास आयोजनाको सफल कार्यान्वयनमा उपभोक्ताको सक्रिय सहभागिता र सहयोगको अपेक्षा व्यक्त गरे । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत केदारनाथ शर्माले विकास आयोजनामा जनसहभागिता जुटाएर समयमै प्रभावकारी कार्यान्वयन गर्न आग्रह गरेका थिए ।


उनले सडक सुबिधाबाट जनताले बढी लाभ लिन उद्यम, व्यवसाय र व्यवसायिक कृषिमा आवद्ध हुनुपर्ने बताए । सडक र यातायात सुबिधा पुगेकोमा औलाबासीले खुसीयाली मनाएका छन् । उनिहरुले औला हुदै बैसरी जोड्ने सडक र कालीगण्डकी नदीमा मोटरेबल पुल निर्माणको माग गरेका छन् ।
आमा समूहका अध्यक्ष गोबिसा पुनको को अध्यक्षता, दिलप्रसाद फगामीको सञ्चालन र वडा सदस्य टिका घतानेको स्वागतमा कार्यक्रम सम्पन्न भएको औलाबाट कबिता पुनले जानकारी दिए ।