विद्यालयलाई सहयोग
- २३ बैशाख २०७६, सोमबार
- 2181 पटक पढिएको
पार्वती सुवेदी, मराङ २३ बैशाख । धवलागिरी गाउँपालिका ६ मराङमा रहेको जनविकास माध्यमिक विद्यालयलाई एक परिवारले दिवंगत अभिभावकको स्मृतिमा एक लाख रुपैयाँ भन्दा बढी आर्थिक सहयोग गरेका छन् । मराङको ठूलोगाउँका स्वर्गीय नारच्याङ गर्बुजाको स्मृतिमा उहाँका छोरीहरु पदमकुमारी जुग्जाली, वुद्धिमाया जुग्जाली र गौकुमारी शेरपुञ्जाले आइतबार एक लाख दश हजार १८५ रुपैयाँ सहयोग गरेका हुन् ।
गर्बुजाका ज्वाईहरु दलप्रसाद र खड्कप्रसाद जुग्जालीले विद्यालयका लेखापाल तथा शिक्षक खडानन्द शर्मालाई रकम हस्तान्तरण गरेका थिए । प्राप्त सहयोग रकम निजी स्रोतका शिक्षकको तलबभत्ता तथा विद्यालयको शैक्षिक क्रियाकलापमा परिचालन गरिने जनाइएको छ । वडा अध्यक्ष राजाराम सुवेदीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कार्यपालिका सदस्य तिलकुमारी केसी, विद्यालय व्यवस्थापन समितिका सदस्य सन्तमान पुन, लिलमाया केसी र पूर्व सदस्य चन्द्रबहादुर पुनको उपस्थिती रहेकोे थियो ।