दरवाङ–म्याग्दीखोलालाई वन क्षेत्र प्रयोग गर्न अनुमती

  • १९ बैशाख २०७६, बिहीबार
  • 1245 पटक पढिएको

बेनी १९ बैशाख । म्याग्दीको मालिका गाउँपालिकामा निर्माण हुन लागेको २५ मेगावाट क्षमताको दरवाङ–म्याग्दीखोला जलविद्युत आयोजनाले वन क्षेत्रको प्रयोग गर्ने अनुमति पाएको छ । धौलागिरि कालिका हाइड्रो लिमिटेडले निर्माण गर्न लागेको आयोजनालाई मन्त्री परिष्दको बैठकबाट राष्ट्रिय वन क्षेत्रको प्रयोग गर्न दिने निर्णय भएको हो ।सरकारका प्रवत्ता सूचना तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटाले बिहीबार सार्वजनिक गर्नुभएको मन्त्रीपरिषद् बैठकको निर्णयमा दरवाङ म्याग्दीखोलालाई वन क्षेत्रको प्रयोग गर्न दिने उल्लेख छ ।

सरकारले वन क्षेत्रको प्रयोग गर्न अनुमति दिएपछि पूर्वाधार निर्माणलाई अघि बढाउन सहज हुने आयोजनाका इञ्जिनियर दिपक आचार्यले बताउनुभयो । प्रवासी म्याग्देलीहरुको अगुवाइमा निर्माण हुन लागेको आयोजनाले जिल्लाबासीहरुलाई पनि संस्थापक लगानीकर्ताहरुको रुपमा समेट्न खोजेको छ । एक अरब १५ करोड रुपैयाँ संस्थापक शेयर पुँजीमा जिल्लाबासीलाई पनि समेट्ने प्रयास गरिएको हो । पूर्वाधार निर्माणको पूर्व तयारीमा रहेको आयोजनाले आगामी जेठ देखि सुरुङ, पहुँचमार्ग, बाँध र विद्युतगृह निर्माणको काम सुरु गर्ने तयारी गरेको छ ।

सडकको पहुँच पुगेको र प्रशारण लाइन निर्माण हुन लागेको, अनुकुल भुगोल लगायतका कारणले यो आयोजना तोकिएकै समयमा सम्पन्न हुने र लगानीकर्तालाई पर्याप्त मुनाफा दिन सक्ने प्रर्वद्धकहरुको भनाई छ । दरवाङ, देविस्थान, ताकम र बिमको सिमा क्षेत्रमा पर्ने फेदीमा बाँध रहने आयोजनाको पाँच किलोमिटर सुरुङ र बालौटेमा विद्युतगृह रहनेछ । यस आयोजनाबाट उत्पादीत विद्युत बिमको डाँडाखेत सब स्टेशनबाट केन्द्रिय प्रशारण लाइनमा जोडिने भएको छ ।