घरभित्र पसेको भन्दै दलित प्रअमाथि कुटपिट, संलग्नलाई कारबाहीको माग

  • १८ बैशाख २०७६, बुधबार
  • 6428 पटक पढिएको

म्याग्दी १८ बैशाख । म्याग्दीको धवलागिरी गाउँपालिका ५ मल्कवाङको भेडिखाल्टामा जातीय विभेदका आधारमा कुटपिट भएको छ । गत बैशाख ५ गते जनज्योती आधारभूत विद्यालयका प्रधानाध्यापक रघुगंगा गाउँपालिका ८ का ४२ वर्षीय रेशबहादुर विश्वकर्मालाई जातिय विभेद गर्दै स्थानीय बलबहादुर रोका र जितेन्द्र जुग्जालीले कुटपिट गरेका थिए ।

रोका र जुग्जालीले कुटपिट गर्दा शिक्षक विश्वकर्माको देब्रे खुट्टाको बिचका दुई वटा औला र पाइताला जोड्ने हड्डी भाँचिएको थियो । जातिय विभेद गरि विश्वकर्मामाथि कुटपिट भएको विरोधमा संयुक्त राजनीतिक दलित संघर्ष समिति म्याग्दीले बुधवार विज्ञप्ती प्रकाशीत गरेपछि घटना ढिला गरि बाहिर आएको हो ।

यस घटनामा संलग्न दुबै जना विरुद्ध जिल्ला प्हरी कार्यालय म्याग्दीले मुद्दा चलाएको छ । पिडितको किटानी जाहेरीका आधारमा कुटपिटमा संलग्न धवलागिरी गाउँपालिका ५ का ३५ वर्षीय बलबहादुर रोका र ३० वर्षीय जितेन्द्र जुग्जाली विरुद्ध जिल्ला अदालतमा जातीय छुवाछुत सम्बन्धी मुद्दा दर्ता गरेको प्रहरी नायव उपरिक्षक महेन्द्रप्रसाद मरासिनीले बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पार्वती पूर्जाको घरमा स्थानीय अगुवाहरुसंग विद्यालय सञ्चालनको विषयमा छलफल गरिरहेको अवस्थामा रोका र जुग्जालीले दलित भएर मगरको घरभित्र पसेको आरोप लगाउँदै आक्रमण गरेर लतारेर ५ मिटर अग्लो आँगनको डिलबाट आफुलाई खसालेको पिडित प्र.अ विश्वकर्माले बताउनुभयो ।

‘‘ विद्यालय सञ्चालनकै बिषयमा छलफलमा थियौँ, त्यतिकैमा मलाई दलित भएकै कारण विभिन्न जातिय विभेदहुने अपशब्द बोल्दै लतारेर आगनबाट खसालेका थिए, खुट्टामा गम्भिर समस्या आएपछि अहिले मणिपाल शिक्षण अस्पतालमा उपचार गरि फर्किएको छु’’– शिक्षक विश्वकर्माले भन्नुभयो ।

विद्यालय सञ्चालनका सम्बन्धमा छलफल चलिरहेको बेला आक्रमण भएको वडा सदस्य समेत रहेकी अध्यक्ष पुर्जाले बताउनुभयो । ६ गते बेनी आउनुभएका विश्वकर्मालाई ८ गते बेनी अस्पतालले थप उपचारका लागि पोखराको मणिपाल शिक्षण अस्पताल रिफर गरेको थियो । बैशाख ७ गते छोरा दिप्सन मार्फत जिल्ला प्रहरी कार्यालयमा जाहेरी पठाएपनि १५ गते मात्र दर्ता भएको हो ।

आफू विदामा बसेको र पिडित पोखरा भएका कारण आधिकारिक रुपमा तत्कालै जाहेरी दर्ता नभएपनि सूचना र ईलाका प्रहरी कार्यालय दरवाङ मार्फत भएको अनुसन्धानको आधारमा पिडक विरुद्ध मुद्दा दर्ता गरेर कारबाही प्रक्रिया सुरु गरेको प्रहरी नायब उपरिक्षक महेन्द्रप्रसाद मरासिनीले बताउनुभयो ।

उहाँका अनुसार, घटनामा संलगनहरुको पक्राउ पुर्जी जारी गरेर खोजी भैरहेको छ । उनिहरु प्रहरीको फरारको सूचिमा छन् । जातीय छुवाछुत सम्बन्धी मुद्दामा एक वर्ष कैद र एक लाख रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ । यसैबिच संयुक्त राजनीतिक दलित संघर्ष समिति म्याग्दीले जातिय विभेद गरि शिक्षकमाथि कुटपिट भएको घटनाप्रति गम्भिर ध्यानकर्षण भएको जनाएको छ ।

बुधवार एक प्रेस विज्ञप्ती प्रकाशित गर्दै समितिले जातिय विभेद गरि शिक्षकमाथि कुटपिट हुनु गम्भिर अपराध रहेको ठहर गर्र्दै अमानविय कार्य भएकोमा विरोध र भत्र्सना गरेको छ । समितिका संयोजक बलबहादुर विश्वकर्माद्धारा जारी गरिएको विज्ञप्तीमा दोषिहरुलाई तत्काल पक्राउ गरि जातीय भेदभाव तथा छुवाछुत कसुर र सजाएँ ऐन २०६८ अन्र्तगत कारबाही गर्न माग गरिएको छ ।