जनप्रतिनिधीद्धारा जन्मदिनको अवसरमा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

  • १७ बैशाख २०७६, मंगलवार
  • 2860 पटक पढिएको

 

बाबियाचौर १७ बैशाख । म्याग्दीको मंगला गाउँपालिका २ का वडा सदस्य चक्रलाल पाण्डे (राजु)ले आफ्नो जन्मदिनको अवसर पारेर दुर्गम बस्तीको विद्यालयमा अध्ययनरत बालबालिकालाई शैक्षिक सामग्री सहयोग गर्नुभएको छ ।

मंगला गाउँपालिका २ खात्रुङखोलामा रहेको प्रगती आधारभुत विद्यालयका ३३ जना विद्यार्थीहरुलाई एक/एक दर्जनका दरले कापी र कलम वितरण गर्नुभएको हो । जन्मदिन मनाउने बाहनामा हुने फजुल खर्च नियन्त्रण गरि बालबालिकाको शैक्षिक विकासमा सहयोग पुगोस भनेर शैक्षिक सामग्री वितरण गरेको वडा सदस्य पाण्डेले बताउनुभयो ।

मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोका, उपाध्यक्ष सिर्जना केसी, मंगला माविका शिक्षक रामचन्द्र पौडेल, सिद्ध मालिका युवा कल्वका अध्यक्ष बालकृष्ण पुर्जाको उपस्थितीमा शैक्षिक सामग्री वितरण गरिएको थियो । उहाँहरुले सामाजिक क्षेत्रमा क्रियाशिल पाण्डेले जन्मदिन मनाउने सिर्जनशिल अभ्यास गरेकोमा प्रंशसा गर्नुभयो ।

बैशाख १८ गते जन्मदिन परेपनि बुधबार मजदुर दिवसको सार्वजनिक बिदा भएकाले मंगलबार वितरण गरिएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सकबहादुर जुक्जालीको अध्यक्षता र प्रअ नारायण शेरपुञ्जाको सञ्चालनमा कार्यक्रम भएको थियो ।