तिम्ल्याह शिशू जन्माएका परियार दम्पतीलाई प्रदेश सरकारको सहयोग

  • १७ बैशाख २०७६, मंगलवार
  • 2423 पटक पढिएको

सन्तोष गौतम
बेनी १७ बैशाख । म्याग्दीको धवलागिरी गाउँपालिका ७ हिलापोखरीमा तिम्ल्याह शिशू जन्माएका एक दम्पतीलाई गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले सहयोग गरेको छ । सामाजिक विकास मन्त्री नरदेवी पुनको पहलमा अपांग अशक्त असाहयलाई उपचार सहयोग कार्यबिधि अनुसार कमला र समिट परियारको दम्पतिलाई एक लाख रुपैयाँ उपलब्ध गराइएको हो ।

मन्त्रालयकी महिला विकास निरिक्षक देवी शर्मा र मन्त्री पुनका निजी सचिव चन्द्रमणी सापकोटाले जिसस प्रमुख देवेन्द्र केसी मार्फत समिटलाई नगद हस्तान्तरण गर्नुभएको थियो ।२२ वर्षीया कमलाले गत मंसिर १० गते पोखराको मणिपाल शिक्षण अस्पतालमा जन्माएका तीन मध्य एक सन्तानको उपचारको क्रममा मृत्यु भएको थियो भने एक छोरा र एक छोरी सकुशल छन् ।

शल्यक्रिया मार्फत जन्मिएका उनिहरुको तौल कम थियो । ४२ दिन अस्पतालमा राखेर उपचार गरिएको थियो । उपचारका लागि हिलापोखरीको टोल सुधार समितिले एक लाख ६५ हजार रुपैयाँ सहयोग जुटाएको थियो ।हिलापोखरी घर भई हाल बेलायतमा रहनुभएका दुर्गाबहादुर पुनको पहलमा एक लाख तीन हजार रुपैयाँ सहयोग प्राप्त भएको थियो ।

यसैगरी बेनीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले दश हजार र कोषका अध्यक्ष राजेश शाक्यले पन्ध्र हजार रुपैयाँ सहयोग गर्नुभएको थियो । राजुलाई १२ सम्म पालनपोषण र पढाउनुभएकी वडा सदस्य नरकुमारी गुरुङले व्यक्तिगत रुपमा दुई हजार पाँच सय रुपैयाँ सहयोग गर्नुभएको छ ।

आठ वर्षको हुँदा बुवालाई गुमाएका समितकी आमा पनि उनी नौ वर्षको हुँदा उनलाई छाडेर दोस्रो बिवाह गरेर गएकी थिइन् । वडा सदस्य नरकुमारी बुढाथोकीले राजुलाई कक्षा १२ सम्म पढाउनुभएको थियो । चार वर्षअघि कमलासँग बिवाह गरेपछि आफ्नो घरमा बस्न थालेका राजुको पारिवारीक अवस्था कमजोर रहेको छिमेकी तारानाथ पौडेलले बताउनुभयो । उपचारका लागि चार लाख पचास हजार रुपैयाँ खर्च भएको थियो ।