बेनीमा विद्युतिय पुस्तकालय सम्बन्धि पुनर्ताजगी तालिम ( तस्बिर सहित)

  • १६ बैशाख २०७६, सोमबार
  • 3212 पटक पढिएको

म्याग्दी, १६ वैशाख । म्याग्दी सदरमुकाम बेनीमा सोमबार तीन दिने विद्युतिय पुस्तकालय सम्बन्धि पुनर्ताजगी तालिम सम्पन्न भएको छ । नेपाल लाइब्रेरी फाउण्डेसन र म्याग्दी प्रवासी नेपाली संघ(मोना)को आयोजनामा भएको तालिममा म्याग्दी, पर्वत र बागलुङका ५० वटा विद्यालयका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

तालिममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले विद्युतिय पुस्तकालयले शैक्षिक गुणस्तर सुधारमा सहयोगी बन्ने बताउँदै यस अभियानलाई अघि बढाएकोमा आयोजकलाई धन्यबाद ज्ञापन गर्नुभयो । उहाँले पुस्तकालयमा नयाँ प्रविधिको प्रयोग समय सान्दिर्भिक रहेको बताउँदै विद्युतिय पुस्तकालयको सहि उपयोग गर्न सुझाब दिनुभयो ।

कार्यक्रममा मोनाका अध्यक्ष चक्रबहादुर थापाले म्याग्दीका विभिन्न ४६ वटा विद्यालयमा विद्यूतिय पुस्तकालय स्थापना भैसकेको जानकारी दिदै देशव्यापि रुपमा विद्युतिय पुस्तकालय स्थापना गर्ने अभियानलाई तिब्रता दिईएको बताउनुभयो । उहाँले स्थानीय तहहरुले समेत हरेक शैक्षिक संस्थामा विद्यूतिय पुस्तकालय स्थापना गर्ने नीति ल्याउनुपर्ने बताउनुभयो ।

तीन दिनसम्म सञ्चालन भएको तालिममा कम्प्युटर इन्जीनियरद्धय बसन्तकृष्ण श्रेष्ठ र इन्द्रकान्त पौडेल, सहजकर्ता इन्द्रप्रसाद सापकोटा, फाउण्डेसनका महासचिब धनकुमार श्रेष्ठ, मोनाका अध्यक्ष थापा लगायतले सहजीकरण गर्नुभएको थियो । मोनाका अध्यक्ष थापाको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा प्रशिक्षक बसन्तकृष्ण श्रेष्ठ, म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्य, सहभागी यामकुमारी सुवेदी, चिरञ्जीवि सुवेदी लगायतले मन्तव्य राख्नुभएको थियो भने महासचिब श्रेष्ठले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।