पाउद्धार–किन्दु सडकको ट्याक खुल्यो (फोटो फिचर)

  • १६ बैशाख २०७६, सोमबार
  • 2237 पटक पढिएको

सुरेन गुरुङ
पाउद्धार १६ बैशाख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ मा पर्ने पाउद्धार देखि किन्दु जोड्ने सडक निर्माण भएको छ । अन्नपूर्ण गाउँपालिकाको अनुदान सहयोगमा गत वर्ष पाउद्धारदेखि सुरु भएको सडक यसपाली झारवाङ हुदै किन्दु जोडिएको हो । पाउद्धार र झारवाङको सिमानामा रहेको सेते प्लेट भिर क्षेत्रमा ट्याक खुलेपछि पाउद्धार किन्दु सिधा सडक सञ्जालमा जोडिएको वडा सदस्य राजेश तिलीजाले जानकारी दिनुभयो ।

उहाँका अनुसार गाउँपालिकाले दुई चरणमा बिनियोजन गरेको २२ लाख रुपैयाँ अनुदान सहयोगमा ७५० मिटर भिरमा सडकको ट्याक निर्माण गरिएको हो । गत वर्ष गाउँपालिकाले बिनियोजन गरेको पाँच लाख रुपैयाँबाट पाउद्धार हुदै सेते प्लेटको भिरसम्म सडक पु¥याइएको थियो ।

वडा सदस्य तिलीजाका अनुसार पाउद्धारदेखि किन्दु जोड्ने सडकको दुरी पाँच किलोमिटर छ । सडक निर्माण भएपछि नेपाने, पाउद्धार, झारवाङ, किन्दु, स्वाँता, घोस्केखोर, फलाते, चित्रेका बासिन्दाहरुलाई सुबिधा पुगेको उपभोक्ता समितिका अध्यक्ष टिकाराम तिलीजाले बताउनुभयो ।

यस सडकलाई पोखरेबगर–घार–शिख–चित्रे सडकको वैकल्पिक मानिएको छ । हाल प्रयोगमा रहेको सडक भन्दा छोटो पनि भएको अध्यक्ष तिलीजाले बताउनुभयो । स्थानीयबासीलाई आवत जावतका साथै गाउँमा उत्पादन भएको आलु लगायत कृषि उपज निकासी, निर्माण र खाद्यान्न सामग्री ढुवानीमा सहज भएको छ ।

साविकको शिख र घार गाविसलाई समेटेको यो सडक गाउँपालिकाको केन्द्र पोखरेबगर जोड्ने चक्रपथ समेत बनेको गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताउनुभयो । अध्यक्ष पुनले पूर्वाधार विकास कार्यालय मार्फत शिखको स्वाँतामा मोटरेबल पुल निर्माणधिन अवस्थामा रहेको र घारखोलामा अर्को मोटरेबल पुल बनाउन पहल गरिएको बताउनुभयो ।

सडकलाई विस्तार, मोड र ग्रेड सुधार गरेर बाह्ै महिना नियमित सवारी साधन सञ्चालन गर्ने बनाउन गाउँपालिकाबाट थप बजेट व्यवस्थापन गर्ने प्रतिवद्धता जनाउनुभयो । पाउद्धारका बासिन्दाको पहलमा तीन वर्षअघि पोखरेबगरदेखि पाउद्धार जोड्ने नौ किलोमिटर सडक निर्माण भएको थियो ।

सडकको आइतबार गाउँपालिकाका अध्यक्ष पुन, प्रमुख प्रशासकीय अधिकृत केदारनाथ शर्मा, गाउँ कार्यपािलकाको भौतिक पूर्वाधार समितिका संयोजक तथा वडा न. ६ का अध्यक्ष कृष्णप्रसाद बरुवाल, वडा सदस्य तिलीजा, प्राबिधिक गोपाल मगर सहितको टोलीले अनुगमन गरेको छ ।
अनुगमनका क्रममा गाउँपालिकाको दुई लाख रुपैयाँ अनुदानमा पाउद्धारको डाडाँगाउँमा निर्माणाधिन आमा समूहको भवनका लागि अध्यक्ष पुनले व्यक्तिगत रुपमा थप एक लाख पचास हजार रुपैयाँ प्रदान गर्नुभएको थियो । घारका वडा अध्यक्ष बरुवालले पनि व्यक्तिगत रुपमा दश हजार रुपैयाँ सहयोग गर्नुभएको थियो । गाउँपालिकाको टोलीलाई आमा समूह र पाउद्धारका बासिन्दाले सम्मान गरेका थिए ।