बेनीका स्वास्थ्य संस्थालाई मापदण्ड पुरा गर्न निर्देशन

  • ७ बैशाख २०७६, शनिबार
  • 1382 पटक पढिएको

बेनी ६ बैशाख । बेनी नगरपालिकाले बेनीमा सञ्चालित निजी क्लिनिक तथा स्वास्थ्य संस्थाहरुलाई मापदण्ड पुरा गर्न निर्देशन दिएको छ । बजारका क्लिनिक, डेन्टल र ल्याबहरुलाई मापदण्ड पुरा गरेर दर्ता तथा नविकरण गर्न एक महिनाको समय दिने शुक्रबारको नगर कार्यपालिकाको बैठकले निर्णय गरेको हो । नगर प्रमुख हरिकुमार श्रेष्ठको अध्यक्षतामा बसेको कार्यपालिकाको ३८ औ नियमित बैठकबाट एक महिनाभित्र मापदण्ड पुरा गर्न पत्राचार गर्ने निर्णय भएको कार्यपालिकाका प्रवत्ता रामकृष्ण बराइलीले बताउनुभयो ।

नगरपालिकाले गत माघमा भएको नगरसभाबाट स्वास्थ्य संस्था दर्ता, नविकरण तथा सञ्चालन सम्बन्धी मापदण्ड पारित गरेको थियो । अनुगमनका क्रममा ८ वटा स्वास्थ्य संस्थाहरुले मापदण्ड पुरा नगरेको भेटिएको कार्यपालिका प्रवत्ता बराइलीले बताउनुभयो । यसैगरी नगर क्षेत्रमा सञ्चालन हुने मेला महोत्सवको मापदण्ड तयार पार्नका लागि कार्यपालिकामा छलफल गरी मस्यौदा तयार पारिएको छ । उक्त मस्यौदा आइतबार प्रशासन कार्यालयले आयोजना गरेको मेला सञ्चालन सम्बन्धी मापदण्ड तयार पार्ने छलफलमा नगरप्रमुख श्रेष्ठले प्रस्तुत गर्नुहुनेछ ।

एक वटा वडामा वर्षमा बढीमा तीन वटा मेला लगाउन पाउने, बिहान १० देखि साँझ ७ बजेसम्म सञ्चालन गर्न पाउने, नगरपालिकाको अनुमतीमा वडा स्तरीय बढीमा तीन दिन र नगर तथा जिल्ला स्तरीय बढीमा ५ दिन सञ्चालन गर्नुपर्ने प्रस्ताव गरिएको छ ।विद्यालय क्षेत्रमा मेला महोत्सव सञ्चालन गर्न नपाउने र मदिरा जन्य पदार्थको बिक्री वितरणमा रोक लगाउने निर्णय भएको छ । यसैगरी गत सोमबार भकिम्ली र सिंगामा भिषण बर्षापछि आएको बाढी र पहिरोले पु¥याएको क्षतिबाट पिडित भएकालाई राहत उपलब्ध गराउन जिल्ला विपद् व्यवस्थापन समितिलाई सिफारीस गरिएको छ ।

असिना पिडित कृषकहरुलाई कृषि ज्ञान केन्द्रसंग समन्वय गरेर फलफूलका बिरुवा र खाद्यबालीको विउ उपलब्ध गराउन आगामी वर्षको बजेटमा समावेश गर्ने निर्णय भएको छ । थप क्षति हुन नदिन तारजालीको व्यवस्था मिलाउने र अवरुद्ध सडक खुलाउने निर्णय भएको छ । यसैगरी बेनी नगरपालिकामा शुक्रबार सुरक्षित गर्भपतन सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।