प्रवासीद्धारा शिखका आगोलागी पिडितलाई सहयोग

  • २९ चैत्र २०७५, शुक्रबार
  • 1606 पटक पढिएको

शिख २९ चैत । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ शिख, फलातेको आगोलागी पिडित हुमादेवी पूर्जा पुनलाई घर पुननिर्माणका लागि प्रवासीले आर्थिक सहयोग गरेका छन् ।शिख्तानी समाज युके र हङकङको तर्फबाट पाँच लाख ७८ हजार तीन सय पचास रुपैयाँ सहयोग प्राप्त भएको हो । गत माघ १ गते आगोलागी हुँदा पुनको ढुङ्गा, माटो र काठले बनेको दुई तले घर जलेर ध्वस्त भएको थियो ।

आगोलागीबाट घरमा रहेका अन्नपात, लत्ताकपडा, गहना, नगद, फर्नीचर लगायत सामग्री नष्ट हुँदा १२ लाख रुपैयाँ बराबरको क्षति भएको थियो । वडा अध्यक्ष दिनेशकुमार तिलीजा पुन, शिख्तानी समाज युकेका अध्यक्ष दानबहादुर गर्बुजा (मुन्ना), शिख्तानी समाज पोखराका अध्यक्ष क्याप्टेन बलबहादुर तिलीजा, शिख माविका प्रअ केदार कार्कीले बिहीबार फलातेमा पुगेर स्थानीयबासीको भेलामा रकम हस्तान्तरण गरेका थिए ।

घर जलेपछि कक्षा ५ र कक्षा ३ मा पढ्ने दुई वटा छोरा सहित पुनका परिवार अस्थाई टहरा बनाएर बस्दै आएकी छिन् । कमजोर आर्थिक अवस्थाकी पुनका श्रीमानको मृत्यु भइसकेको छ । घर पुननिर्माणका लागि युके र हङकङमा बस्ने शिखबासीहरुको पहलमा आर्थिक सहयोग संकलन गरेर उपलब्ध गराइएको हो ।

शिख स्वास्थ्य चौकीमा पूर्वाधार निर्माण

यसैगरी शिख स्वास्थ्य चौकीको प्रसुती कक्षमा दुई जना दाताको सहयोगमा पूर्वाधार थप गरिएको छ । स्वर्गीय सुवेदार मेजर कविराज गर्वुजा पुनको पुन्य स्मृतिमा उहाँकी धर्मपत्नी कलमती गर्बुजा पुन तथा छोराहरु शिख्तानी समाज युकेका अध्यक्ष दानबहादुर गर्बुजा र सुवेदार मेजर डिल्लीराज गर्बुजाले इन्क्युभेटर उपकरण उपलब्ध गराएका हुन् ।

नवजात शिशूलाई जाडोबाट बचाउनका लागि इन्क्युभेटर उपकरण आवश्यक पर्छ । स्वास्थ्य चौकीको प्रसुती कक्षमा स्वर्गीय कुलबहादुर पाइजाको स्मृतिमा उहाँकी धर्मपत्नी नरकुमारी पाइजा पुन र छोरा बुहारी राजेन्द्र पाइजा पुन, निर्मला पाइजा पुनको सहयोगमा एट्याच बाथरुम निर्माण भएको छ । यसअघि प्रसुती सेवा लिन आउनेहरु शौचालयका लागि भवन देखि बाहिरको चर्पीमा जानुपर्ने समस्या थियो । भवनभित्रै शौचालय भएपछि सेवाग्राहीलाई सहज हुने अपैक्षा गरिएको छ ।

शिख्तानी समाज युकेका अध्यक्ष दानबहादुर गर्बुजा र शिख्तानी समाज पोखराका अध्इक्ष क्याप्टेन बलबहादुर तिलीजाले स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका वडा अध्यक्ष दिनेशकुमार तिलीजा पुन र स्वास्थ्य चौकी प्रमुख हेमबहादुर पुनलाई उपकरण तथा एट्याच बाथरुमको चावी हस्तान्तरण गरेका थिए ।

यसैगरी शिख्तानी समाज युकेका अध्यक्ष दानबहादुर गर्बुजाले शिख माविको पुस्तकालयमा पन्चीस हजार रुपैयाँ बराबरको विभिन्न विधाका पुस्तकहरु सहयोग गर्नुभएको विद्यालयका प्रअ केदार कार्कीले जानकारी दिएका थिए ।

रोजगारी, पेशा, व्यवसाय र अध्ययनका लागि विश्वका विभिन्न देशमा पुगेका शिखबासीहरुले आफ्नो जन्मथलोको शिक्षा, स्वास्थ्य, सडक, विद्यालय भवन लगायत पूर्वाधार निर्माण, विपद् व्यवस्थापनमा सहयोग गर्दै आएका छन् ।