म्याग्दीमा नेकपाको एकता : वडा कमिटि अनुमोदन, पालिका कमिटी सिफारिस

  • २७ चैत्र २०७५, बुधबार
  • 2057 पटक पढिएको

बेनी २७ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को मंगलबार बेनीमा बसेको जिल्ला संयन्त्रको बैठकले स्थानीय तहको नेतृत्वका लागि प्रस्तावित नाम प्रदेश कमिटिमा सिफारिस र वडा कमिटि अनुमोदन गरेको छ । चार वटा पालिका सहित २८ वटा वडामा पूर्व एमाले र दुई वटा पालिका सहित १७ वटा वडामा पूर्व माओवादी केन्द्रका नेताको नेतृत्वमा कमिटि गठन भएको हो । अध्यक्ष र सचिवमा पहिलेका फरक फरक पार्टीका नेतालाई चयन गरिएको नेकपाका जिल्ला संयन्त्र सदस्य गोविन्द पौडेलले बताउनुभयो । कमिटिमा पूर्व एमालेबाट ५९ र पूर्व माओवादीबाट ४१ प्रतिशतको अनुपातमा प्रतिनिधित्व गराइएको छ ।

‘पालिकाको नेतृत्व अनुमोदनका लागि प्रदेशमा सिफारिस गरेका छौ र वडाको जिल्ला संयन्त्रले अनुमोदन गरेको छ,’ पौडेलले भन्नुभयो ‘सबै ठाउँमा सर्वसम्मत कमिटि गठन भएको छ ।’ अन्नपूर्ण गाउँपालिका ६ घारको वडा कमिटिको अध्यक्षमा राजाराम बरुवाल र मेखबहादुर खड्काको नाम सिफारिस भएकोमा जिल्ला संयन्त्रले खड्कालाई चयन गरेको छ । बेनी नगरकमिटिको अध्यक्षमा पूर्व माओवादी केन्द्रका शेरबहादुर केसी र सचिवमा पूर्व एमालेका राजकुमार थापा, धवलागिरी गाउँपालिकाको अध्यक्षमा पूर्व माओवादीका खुमनाथ सुवेदी र सचिवमा पूर्व एमालेका देउप्रसाद छन्त्याल चयन हुनुभएको छ ।

मालिका गाउँपालिकाको अध्यक्षमा पूर्व एमालेका बेगप्रसाद गर्बुजा र सचिवमा पूर्व माओवादीका गोविन सिउथानी, मंगला गाउँपालिकाको अध्यक्षमा पूर्व एमालेका प्रेमप्रसाद रेग्मी र सचिवमा पूर्व माओवादीका यामबहादुर रोकालाई चयन गरिएको छ । रघुगंगा गाउँपालिकाको अध्यक्षमा पूर्व एमालेका दिपक कार्की र सचिवमा पूर्व माओवादीका हरि भण्डारी, अन्नपूर्ण गाउँपालिकाको अध्यक्षमा पूर्व एमालेका खड्ग गिरी र सचिवमा पूर्व माओवादीका पूर्ण पाइजा चयन भएका जिल्ला संयन्त्र सदस्य हरिकृष्ण श्रेष्ठले बताउनुभयो । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर नेकपा घोषणा भएको करिब एक वर्षपछि स्थानीय र वडा स्तरमा संयुक्त कमिटि गठन भएको हो ।