खिवाङका अगुवा पुनको भिरबाट लडेर मृत्यु

  • २७ चैत्र २०७५, बुधबार
  • 4525 पटक पढिएको

बेनी २७ चैत । म्याग्दीको धवलागिरी गाउँपालिका ४ मा पर्ने नाउराको भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।बगर देखि खिवाङ जाने क्रममा नाउराको भिरबाट लडेर खिवाङका ५० वर्षीय जितबहादुर पुनको मंगलबार मृत्यु भएको छ ।बगरको तातोपानी कुण्डमा स्नान गरेर घर फर्कने क्रममा पुन नाउराको भिरबाट करिब तीन सय मिटर तल खस्नुभएको इलाका प्रहरी कार्यालय दरवाङले जनाएको छ ।

साघुँरो बाटोमा हिड्ने क्रममा झुक्किएर भिरबाट खसेको प्रहरी निरिक्षक रामप्रसाद पाण्डेले बताउनुभयो ।खिवाङ स्थित चन्द्रज्योती माविको व्यवस्थापन समितिका अध्यक्ष, बाघराज बिल्डर्सका अध्यक्ष, अपर म्याग्दीखोला जलविद्युत आयोजनाको निर्देशक रहनुभएका स्व.पुन धवलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा पुनका सहोदय कान्छा दाजु हुनुहुन्छ ।

बेलायती गोर्खा सैनिकका सेवा निवृत पुन केही वर्षयता गाउँ फर्किएर जलविद्युत आयोजना, गाउँको विकास निर्माण, व्यवसायिक सुन्तला खेतीका साथै सामाजिक काममा सक्रिय हुनुभएको थियो ।गाउँका अगुवा पुनको निधनले खिवाङबासी शोकमा डुवेका छन् । धौलागिरी चक्रीय पदमार्ग अन्तरगत पर्ने अक्करे नाउराको भिर जोखिमयुक्त छ । यहाँ बर्षेनी दुर्घटना भएर स्थानीयबासी, पर्यटक र पर्यटक मजदुरहरुको ज्यान जाने गरेको छ ।

२०६४ अघिसम्म नाउराको भिरमा रसीमा झुण्डीएर हिड्नुपर्ने बाध्यता थियो । तत्कालीन माओवादीले दन्द्धकालमा स्थानीयबासी र पर्यटकको सहयोगमा पदमार्ग निर्माण सुरु गरेका थिए । शान्ति प्रक्रिया सुरुभएपछि तत्कालिन जिविस र नेपाली सेनाको सहयोगमा पदमार्ग बनाइएको थियो । पर्यटन मन्त्रालय र गाउँपालिकाले नाउराको भिरमा पदमार्ग मर्मतलाई निरन्तरता दिदै आएका छन् ।

करिब पाँच किलोमिटर दुरीको नाउराको भिर पार गर्न दुई घण्टा लाग्छ । फराकिलो र सुरक्षित पदमार्ग बनाउन करोडौको लगानी आवश्यक देखिएको छ ।