प्रथम म्याग्दी पर्यटन महोत्सवमा खुला लोकदोहोरी गीत प्रतियोगीता सुरु
- २६ चैत्र २०७५, मंगलवार
- कमल खत्री
- 2066 पटक पढिएको
कमल खत्री
म्याग्दी, २६ चैत । म्याग्दी सदरमुकाम बेनीमा जारी प्रथम पर्यटन महोत्सवमा खुला लोकदोहोरी गीत प्रतियोगीता सुरु भएको छ । मंगलवारदेखि सूरु भएको प्रतियोगितामा विभिन्न ८ समुहले सहभागीता जनाएका छन् । पहिलो दिन बेनी नगरपालिका र तातोपानी कुण्ड व्यवस्थापन समितिबाट सहभागी भएका कलाकारहरुबिच दोहोरी घम्साघम्सी भएको छ ।
महोत्सवमा खुल्ला लोकदोहोरी गीत संगै म्याग्दी डान्स आइडलको रुपमा एकल नृत्य लगायतका प्रतियोगीता समेत समावेश गरिएको मुल संयोजक चिरञ्जीवि शर्माले जानकारी दिनुभयो । खुला दोहोरी गीत प्रतियोगीतामा प्रथम, द्धितिय र तृतिय हुनलाई क्रमश ः नगद रु ५० हजार, २५ हजार र १० हजार पुरस्कार प्रदान गरिनेछ भने नृत्य प्रतियोगीतामा क्रमशः रु २५ हजार, १० हजार र ५ हजार पुरस्कारको व्यवस्था गरिएको छ ।
रेडियो म्याग्दीले नयाँ बर्ष र रेडियोको बार्षित्सवको अवसरमा आयोजना गरिएको महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुतीले संगीतमय बनेको हो । चर्चित कलाकारहरुको प्रस्तुतिले दर्शकहरुको आकर्षण बढेको रेडियोका स्टेशन म्यानेजर भरत रकालले बताउनुभयो । ‘‘ हाम्रो कला संस्कृतिको पहिचान तथा संरक्षण, साना तथा घरेलु उद्योगको प्रवद्र्धन’ भन्ने मुल नाराका साथ सुरु भएको महोत्सव बैशाख १ गतेसम्म सञ्चालन हुनेछ ।
१०० वटा व्यापारिक स्टल रहेको महोत्सवमा स्थानीय उत्पादनका बस्तुहरुको प्रदर्शनी समेत गरिएको छ । महोत्सव अवधिभर १० लाख दर्शकले अवलोकन गर्ने र ५ करोडको कारोबार हुने अनुमान आयोजकको छ । ५८ लाख ८० हजारको आम्दानी खर्च हुने अनुमान गरिएको महोत्सवबाट बचत हुने रकमलाई रेडियोको संस्थागत विकास संगै जिल्लामा संचारकर्मी राहतकोष निर्माणमा परिचालन गरिने रेडियोले जनाएको छ ।

कमल खत्री
म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l