हाईटेन्सनको पिल्लरलाई जोगाउन राखिएको छड्के ग्याविङ पर्खालले तिपल्याङ बस्ती जोखिममा

  • २६ चैत्र २०७५, मंगलवार
  • 1935 पटक पढिएको

धिरन खत्री

म्याग्दी, २६ चैत । म्याग्दीको रघुगंगगा गाउँपालिका– १ तिपल्याङको बस्ती जोखिम परेको छ । विद्युत प्रशारणलाईन अन्तर्गत तिपल्याङमा निर्माण भएको हाईटेन्सनको पिल्लरलाई जोगाउन कालीगण्डकी किनारमा लगाइएको ग्याविङ पर्खालले तातोपानी बस्ती जोखिममा परेको हो ।


कालीगण्डकी नदीको किनारमा बनेको हाईटेन्सनको पिल्लर जोगाउन लगाईएको छड्के पर्खालले हिउदँको समयमा तिपल्याङ बस्तीलाई असर नगरेपनि बर्षात र बर्खको समयमा कालीगण्डकी नदीमा बढेको बहाफले बस्ती तर्फको भागलाई कटान गर्ने जोखिम बढेको स्थानीय निरबहादुर बढाथोकीले जानकारी दिए ।

तिपल्याङमा ३० घर परिवारको बसोबास रहेको छ । कालीगण्डकी करिडोर अन्तर्गत बेनी जोमसोम सडक निर्माणमा निस्किएको कच्चापदार्थ नदीमा किनारमा फालेको छ । बर्खाको समयमा नदीमा बहाफ बढेपछि आएको बाढीले छड्के पर्खालमा ठोकिएर तिपल्याङ बस्ती कटान गर्ने सम्भावना देखिएको बुढाथोकीले जानकारी दिए ।

हाईटेन्सन लाईनको ठेकेदारलाई जानकारी गराउदाँ पनि अटेरी गरेको भन्दै जोखिम परेको बस्तीलाई जोगाउन आवश्यक पहल गरिदिन रघुगंगा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीलाई बुढाथोकीले अनुरोध गरेका छन् । अध्यक्ष भण्डारीले जोखिमलाई न्युनिकरण गर्न सहजीकरण गर्ने प्रतिवद्धता जनाएका थिए ।