बरंजामा बाढीको बितण्डा

  • २५ चैत्र २०७५, सोमबार
  • 1925 पटक पढिएको


म्याग्दी २५ चैत । बाढीका कारण म्याग्दीको मंगला गाउँपालिका ४ मा सडक र खानेपानी आयोजना अवरुद्ध भएको छ । बर्षासंगै असिनाका कारण गाउँपालिकाको ३ र ४ नम्बर वडामा पर्ने बरंजामा खेतीबालीमा समेत क्षति पु¥याएको छ ।बर्षापछि खोल्सामा आएको बाढीले सडक र खानेपानीको पाइप बगाएको छ । बरंजा देखि दुर्दी, भित्रीवन, धापुङ, महेशगाउँ, झाँक्रेपानी जोड्ने सडक बाढीले बगाएपछि अवरुद्ध बनाएको हो । यसैगरी बफुवा र खानीगाउँको जलजला खानेपानी तथा सरसफाई आयोजनाको पाइप बाढीले बगाएपछि खानेपानी अवरुद्ध भएको उपभोक्ता समितिले जनाएको छ । डेढ सय घरधुरी प्रभावित भएका छन् ।

बर्षासंगै आएको बाढीले भित्रीवनका टिकप्रसाद रोका, खैसरा घर्ती, पदमबहादुर रोकाको घर जोखिममा परेको छ । खेतीयोग्य जमिन बाढीले पुरिएको छ । बरंजामा शुक्रबार, शनिबार र आइतबार दिनहुँजसो भिषण बर्षा भएको थियो ।असिनाले गहुँ, जौ, केराउ लगायत हिउँदेबाली, तरकारी र सुन्तला लगायत फलफुल बालिमा असिनाले क्षति पु¥याएको कृषकहरुले बताएका छन् ।

बाक्लो असिनाले चुटेर बोटमा लागेका दाना, फल र बटिला झारेको बरंजाको धापुङका कृषक दलबहादुर पुनले बताए । खेतीबालीमा असिनाले क्षति पु¥याएपछि कृषकहरु निराश भएका छन् । भित्र्याउने बेला भएको गहुबालीमा असिनाले धेरै क्षति पु¥याएको छ ।मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले तातोपानी प्रहरी चौकीबाट गएका सुरक्षाकर्मीको टोलीले आइतबार क्षतिको विवरण संकलन गरेको जानकारी दिए । बर्षा रोकिएपछि अवरुद्ध सडक र खानेपानी आयोजना मर्मत गरेर सञ्चालन गरिने अध्यक्ष रोकाले भनेबाढीका कारण मंगला गाउँपालिकाको केन्द्र बाबियाचौर देखि कुहँु, अर्मन जोड्ने सडक समेत अवरुद्ध भएको छ । तस्विरः बबरजंग पाल