विप्लप समूहको शिक्षक संगठनका कार्यवाहक अध्यक्षद्धारा राजिनामा

  • २४ चैत्र २०७५, आईतवार
  • 1706 पटक पढिएको

बेनी २४ चैत । नेत्रबिक्रम चन्द्र (विप्लप) नेतृत्वको नेकपा निकट शिक्षक संगठनको कार्यवाहक जिल्ला अध्यक्ष थमबहादुर पुनले पदबाट राजिनामा दिनुभएको छ । मालिका गाउँपालिका ३ डाँडागाउँका पुनले आइतबार एक प्रेस विज्ञप्ती जारी गरेर विप्लप समूह निकटको अखिल नेपाल शिक्षक संगठनको कार्यवाहक अध्यक्ष लगायत सो पार्टी र संगठनको कुनै पनि संगठन र सदस्यता त्यागेको घोषणा गर्नुभएको हो ।

उहाँले नेपालको संविधानलाई पूर्ण रुपमा पालना गर्दै समान्य नागरिक भई आफ्नो पेशा व्यवसायमा रहने बताउनुभएको छ । डाँडागाउँको अमरज्योती माविका शिक्षक रहनुभएका पुनलाई गत चैत १० गते पक्राउ गरेर हिरासतमा राखेको छ ।

एनसेलको टावर आगजनीमा संलग्न भएको आरोपमा सोधपुछका लागि पुन सहित नेकपाको जिल्ला जनसरकार संयोजक जगत पुन र युवा संगठनका जिल्ला सदस्य रमेश पुनलाई नियन्त्रणमा लिएको थियो । पुनले प्रहरी हिरासतमै विज्ञप्ती निकालेर राजिनामा दिनुभएको हो ।

सरकारले विप्लप समूहको गतिबिधिलाई प्रतिबन्ध लगाएपछि पुन सहित म्याग्दीमा तीन जनाले सो समूहबाट राजिनामा दिएका छन् । यसअघी बेनपा ४ तातोपानीका जिल्ला सदस्य प्रेम श्रीस र शिक्षक संगठनका जिल्ला सदस्य सन्तोष गिरीले पनि विज्ञप्ति निकालेर राजिनामा दिएको घोषणा गर्नुभएको थियो ।