मुनामा पत्रकारिता पुनर्ताजगी एवम् उद्घोषण कला तालिम सम्पन्न (फोटो फिचर)

  • २४ चैत्र २०७५, आईतवार
  • 2128 पटक पढिएको

म्याग्दी, २४ चैत । म्याग्दीको धवलागिरी गाउँपालिका– ३ मुनामा सञ्चालित पत्रकारिता पुनर्ताजगी एवम् उद्घोषणकला तालिम सम्पन्न भएको छ । गाउँपालिकाको आर्थिक सहयोग, नेपाल पत्रकार महासंघ म्याग्दीको समन्वय र म्याग्दी मिडिया सोसाइटीको आयोजनामा भएको दुई दिने तालिम शनिबार सम्पन्न भएको हो । तालिममा गाउँपालिकाका ७ वटै वडाका ३५ जनाको सहभागिता रहेको थियो ।


म्याग्दी मिडिया सोसाइटीका अध्यक्ष कमल खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले ग्रामीण भेगमा पत्रकारीताको विकास गर्न तालिम फलदायी हुने बताउनुभयो । ग्रामीण भुगोललाई समेटेर बनेको धवलागिरी गाउँपालिकाको दुर्गम बस्ती स्तरमा पत्रकारीताको पहुँच बढाउन, ग्रामीण पत्रकारीताको विकास र महिला जनप्रतिनिधिको क्षमता अभिबृद्धिमा तालिम सहयोगी बन्ने विश्वास व्यक्त गर्नुभयो ।


कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले गाउँपालिकाले सडक, विद्युतिकरण र पर्यटन प्रवद्र्धनमा जोड दिएको बताउँदै सञ्चार क्षेत्रबाट यहाँका समस्या र सम्भावनाको उजागरमा जोड दिन आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष तारानाथ शर्माले संघीयता कार्यान्वयनसँगै गाउँघरमा आएका सरकारको निगरानी, खबरदारी र रचनात्मक कामको प्रर्वद्धनका लागि पत्रकारिता गाउँ केन्द्रित भएको बताउनुभयो ।


कार्यक्रममा प्रशिक्षार्थी चुनदेबी विक र दलमान छन्त्यालले तालिमले व्यक्तीत्व विकासमा ठुलो सहयोग पुगेको बताउँदै आफुहरुले तालिममा सिकेका ज्ञान सिपलाई व्यवहारमा लागु गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । कार्यक्रममा सोसाइटीको अध्यक्ष खत्री, गाउँपालिकाका उपाध्यक्ष छन्त्याल, प्रमुख प्रशासकिय अधिकृत शर्मा र पत्रकार महासंघका अध्यक्ष शर्माले सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन मञ्जु पुन गुरुङले गर्नुभएको थियो ।

दुई दिनसम्म सञ्चालन भएको तालिममा नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष तारानाथ शर्मा, पत्रकारहरु घनश्याम खड्का, कमल खत्री, अमित विश्वकर्मा, सन्तोष गौतम, गोरखनाथ सुवेदी, सुदर्शनकुमार श्रेष्ठ, हरिकुष्ण गौतम, ठाकुर प्रसाद आचार्य, प्रताब बानियाँ लगायतले सहजीकरण गर्नुभएको थियो ।