चिमखोलामा एकिकृत घुम्ति शिविर सुरु

  • २१ चैत्र २०७५, बिहीबार
  • 2257 पटक पढिएको

सन्दिप शर्मा

चिमखोला २१ चैत । रघुगंगा गाउँपालिका ७ चिमखोलामा बिहीबारदेखि एकिकृत घुम्ति शिविर सुरु भएको छ । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय अन्तरगतको स्वास्थ्य सेवा कोष, जिल्ला प्रशासन कार्यालयको आयोजना र रघुगंगा गाउँपालिकाको आयोजनामा शिविर सञ्चालन गरिएको हो ।

भौगोलिक विकटता र आर्थिक अभावका कारण सदरमुकाममा रहेका कार्यालयसम्म आएर सेवा लिन नसकेका दुर्गम ग्रामिण क्षेत्रका नागरिकको सुबिधाका लागि महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाको पहलमा शिविर सञ्चालन भएको हो । दुई दिनसम्म सञ्चालन हुने शिविरमा नागरिकता, अपाङ्गता परिचयपत्र वितरण, तस्विर सहितको मतदाता नामावली दर्ता, स्वास्थ्य र पशु स्वास्थ्य सम्बन्धि सेवा प्रवाह हुने जनाइएको छ । शिविरको पहिलो दिन जिल्ला निर्वाचन कार्यालयको टोलीले १३ जना पुरुष र १७ जना महिलाको तस्बिर सहितको मतदाता नामावली दर्ता गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले २९ वटा नयाँ र १३ वटा प्रतिलिपि नागरिकता वितरण गरेको छ । स्वास्थ्य सेवा कोष मार्फत सञ्चालित विशेषज्ञ स्वास्थ्य शिविरमा ३१० जनाले स्वास्थ्य परिक्षण, परामर्श र निशूल्क औषधी उपचार सेवा पाएका छन् ।शुक्रबार रघुगंगा गाउँपालिकाको भगवतीमा सो स्वास्थ्य शिविर सञ्चालन हुने जनाइएको छ । गाउँपालिकाले ५१ जनालाई जेष्ठ नागरिक, दुई जनालाई ख र दुई जनालाई ग वर्गको अपाङ्गता परिचयपत्र वितरण गरेको छ । १२ जनाले प्रधानमन्त्री स्वरोजगार कार्यक्रमका लागि बेरोजगार फारम भरेका छन् ।

भेटिरीनरी अस्पताल तथा पसु सेवा विज्ञ केन्द्रको टोलीले १२८ जना कृषकको पाँच हजार २४४ पशुपक्षीको स्वास्थ्य परिक्षण र औषधी वितरण गरेको छ । शिविरकै अवसरमा कृषि, पशुपालन र वन उद्यम सम्बन्धी गोष्ठि पनि गरिएको छ ।

क्षेत्रीय कृषि अनुसन्धान केन्द्र लुम्लेका प्रमुख तुलबहादुर पुन, मत्य अनुसन्धान केन्द्र बेगनासका प्रमुख अग्नीप्रसाद नेपाल, मेगा प्रोजेक्ट्सका डाक्टर लक्ष्मण ढकाल, पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय पोखराका निर्देशक मनबहादुर पुनले गोष्ठिको सहजिकरण गर्नुभएको थियो ।

रघुगंगा गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीको अध्यक्षता, प्रमुख प्रशासकीय अधिकृत रमेश थापाको स्वागत र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाद्धारा उद्घाटन भएको कार्यक्रमको सञ्चालन मन्त्रीको निजी सचिवालयका सदस्य गमबहादुर पुनले गरेका थिए ।कार्यक्रममा प्रजीअ लीलाधर अधिकारी र वडा अध्यक्ष देउबहादुर पुनले दुर्गम, ग्रामिण क्षेत्रका अशक्त, गरिव, विपन्न नागरिकका लागि शिविर उपयोगी बन्ने बताए । शिविरमा चिमखोला, दर्मीजा, रायखोर, कुइनेमंगलेका बासिन्दाले सेवा लिने जनाइएको छ ।