म्याग्दीमा ६२ औँ सहकारी दिवस, उत्पादनमुलक क्षेत्रमा लगानी बढाउनुपर्छ : मन्त्री थापा (फोटो फिचर)

  • २० चैत्र २०७५, बुधबार
  • कमल खत्री
  • 2211 पटक पढिएको

कमल खत्री

बेनी, २० चैत । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममायाँ थापाले मुलुकको आर्थिक विकास र समृद्धिको लागि सहकारीहरुको लगानी उद्यमशिलता तर्फ केन्द्रित हुनुपर्ने बताउनुभएको छ । ६२ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा जिल्ला सहकारी संघ म्याग्दीले बुधवार बेनीमा आयोजना गरेको समारोहमा बोल्दै मन्त्री थापाले सहकारीको लगानी उत्पादनशिल क्षेत्रमा आबश्यक रहेको बताउनुभयो ।

सहकारीहरु बचत संकलन र ऋण लगानीको दायराबाट माथि उठ्न आबश्यक रहेको मन्त्री थापाको भनाई थियो । ‘‘ सहकारीलाई राज्यले आर्थिक विकाएको एउटा खम्बाको रुपमा लिएको छ, तर अहिले अधिकाँश सहकारी ऋण लगानी र बचत संकलनमा मात्रै केन्द्रित छन्, अब उत्पादनमुलक क्षेत्रमा लगानी बढाउनुपर्छ’’–मन्त्री थापाले भन्नुभयो ।

आफ्नो कार्यक्षेत्रमा कृषि, पशुपालन, पर्यटन, व्यवसाय लगायतको क्षेत्रको सम्भावनाको पहिचान गरि स्वरोजगारमुलक क्षेत्रमा सहकारीले लगानी केन्द्रित गर्नुपर्ने उहाँले बताउनुभयो । सरकारले अघि सारेको ‘सुखी नेपाली समृद्ध नेपाल’को नारालाई साकार पार्न सहकारीको भुमिका महत्वपूर्ण हुने बताउँदै उहाँले व्यक्ति, समुह र समाज आर्थिक रुपमा सक्षम र सबल बन्न सकेमा मात्रै मुलुकमा आर्थिक विकास सम्भब हुनेमा जोड दिनुभयो ।

मन्त्री थापाले सरकारले सहकारीलाई व्यवस्थित गर्न लागिपरेको बताउँदै गरिब, विपन्न र आर्थिक रुपमा पछाडी परेका बर्ग समुदायलाई सहकारीमा पहुच बढाउनुपर्ने आबश्यकता औँल्याउनुभयो । कार्यक्रममा मन्त्री थापाले महिलाको आर्थिक स्रोतमा पहुँच बढाउन र जिविकोपार्जन सुधारका लागि म्याग्दी लगायत पिछडिएका ३० जिल्लामा राष्ट्रपति महिला उत्थान कार्यक्रम सुरु गरेको जानकारी समेत दिनुभयो ।

कार्यक्रममा गण्डकी प्रदेशका सांसद विनोद केसीले कुल लगानीको तीस प्रतिशत अनिवार्य कृषि क्षेत्रमा लगानीसहकारी नीति कडाइका साथ कार्यान्वयन गर्न सकेमा मात्रै सहकारीहरुको लगानी उत्पादनशिल क्षेत्रमा बढ्ने बताउनुभयो ।

सहकारीका अध्यक्ष दिपक कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र बहादुर केसी, नेकपा जिल्ला संयन्त्र सदस्य टेक बहादुर विक, नेपाली काँग्रेसका सचिब क्याप्टेन मिनबहादुर कार्की, म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्य र नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष तारानाथ शर्माले गरिबी र बेरोजगारिको समस्यालाई हल गर्ने गरि लगानीलाई केन्द्रित गर्न सहकारीहरुलाई सुझाब दिनुभयो ।

संघका उपाध्यक्ष ज्ञानेन्द्र सुवेदीको स्वागत र सचिब ज्योति लामिछानेको सञ्चालनमा सम्पन्न कार्यक्रममा प्रभातफेरी ¥यालीमा उत्कृष्ट हुन सफल सहकारीहरुलाई सम्मान गरिएको थियो ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l