चिमखोलामा बालमैत्री शिक्षण सिकाई तालिम

  • २० चैत्र २०७५, बुधबार
  • 2623 पटक पढिएको

बेनी २० चैत । रघुगंगा गाउँपालिका ७ चिमखोलाको अमर माविमा बालमैत्री शिक्षण सिकाई बिधि सम्बन्धी तालिम सम्पन्न भएको छ । सम्बृद्ध ग्रामिण नेपालका लागि शैक्षिक उन्नयन (लर्न)को आयोजनामा चैत १४ देखि १९ गतेसम्म सञ्चालन भएको तालिममा चिमखोला, कुइनेमंगल, पाखापानी र झिँका १८ वटा विद्यालयका ६६ जना शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको थियो ।

तलिममा गणित, सामाजिक, अंग्रेजी र सिर्जनात्मक कला सम्बन्धि विषयगत रुपमा सिकाइका तरिका र शैक्षिक सामग्री निर्माण तथा प्रयोगका विषयमा शिक्षकहरुलाई शैद्धान्तिक र व्यवसारिक ज्ञान, सिप प्रदान गरिएको थियो । लर्नका कार्यक्रम व्यवस्थापनक मिन शाही, शिक्षा विकास अधिकृत गोपाल ढुङ्गेल, प्रशिक्षक रणविर शाह र केदार दाहालले तालिमको सहजिकरण गर्नुभएको थियो । वडा अध्यक्ष देउप्रसाद पुनको उपस्थितीमा तालिम समापन गरिएको थियो ।

सो अवसरमा कक्षा कोठा व्यवस्थापनमा उत्कृष्ट दुई वटा विद्यालयलाई पुरस्कृत र चार जना अगुवा शिक्षक छनौट गरिएको थियो । चिमखोला आधारभुत विद्यालय गौडामुनी र हरि आधारभुत विद्यालय पाखापानीलाई एक, एक थान ल्यापटप र प्रमाणपत्र प्रदान गरिएको थियो ।

अमर मावि चिमखोलाकी पोमाया पुन, रितुङ माविका बलराम खनाल, महेन्द्र मावि झिँका कृष्णकुमारी थजाली र जनआदर्श मावि कोटगाउँका रोशन पुनलाई अगुवा शिक्षक छनौट गरिएको हो । चैत २१ देखि ३० गते सम्म अन्नपूर्ण गाउँपालिकाको १४ विद्यालयका ७५ जना शिक्षक शिक्षिकाहरुलाई नारच्याङका प्रभा माविमा बालमैत्री शिक्षण सिकाई बिधि सम्बन्धी तालिम सञ्चालन गर्ने लर्नले जनाएको छ ।