‘दिगो विकास लक्ष्य प्राप्तिको लागि सहकारी’ : सरोकारवाला

  • १९ चैत्र २०७५, मंगलवार
  • 2019 पटक पढिएको

बेनी, १९ चैत । सरकारले लिएको दिगो लक्ष्य प्राप्तिको लागि सहकारीको भुमिका महत्वपूर्ण रहेको बेनीमा आयोजित एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । सहकारी दिवसको अवसरमा राष्ट्रिय सहकारी बैँक बागलुङ शाखा र जिल्ला सहकारी संघ म्याग्दीले आयोजना गरेको ‘दिगो विकास लक्ष्य प्राप्तिको लागि सहकारी’ बिषयक गोष्ठीमा बोल्ने बत्ताहरुले सो कुरामा जोड दिएका हुन् ।

कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी बैँकका अध्यक्ष केवि उप्रेतीले मुलुकको अर्थतन्त्रको विकासमा सहकारीको भुमिका महत्वपूर्ण रहेकोमा जोड दिनुभयो । उहाँले सहकारीहरुमा सुशासन आबश्यक रहेको भन्दै सहकारी ऐन, सहकारीको मुल्य मान्यता र सिद्धान्तलाई आत्मसाथ गरि सहकारीहरुले आर्थिक कारोवार र लगानी गर्नुपर्ने बताउनुभयो ।

उहाँले उत्पादनशिल क्षेत्र गरिबी न्युनिकरणतर्फ बिशेष ध्यान दिएर लगानी गर्नुपर्ने आबश्यकता समेत औँल्याउनुभयो । कार्यक्रममा राष्ट्रिय सहकारी बैँकका सञ्चालक समिति सदस्य एवम गण्डकी प्रदेशका इन्चार्ज रामबहादुर जिसीले कार्यपत्र प्रस्तुत गर्दै राष्ट्रिय सहकारी बैँकको अवधारण र आबश्यकता तथा सहकारीहरुले दिगो विकासमा पार्ने प्रभाब बारेमा प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा जिल्ला सहकारी संघ म्याग्दीका अध्यक्ष दिपक कार्कीले जिल्लामा राष्ट्रिय सहकारी बैँकको शाखा स्थापनाको लागि संघले आबश्यक पहल थालेको बताउँदै सम्पर्क कार्यालय राखेर सहजीकरण गर्न सहकारी बैँकलाई आग्रह गर्नुभयो । कार्यक्रममा संघका पूर्व अध्यक्ष सुदर्शन कुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष तारानाथ शर्मा, नेपाल बचत तथा ऋण सहकारी संघका अध्यक्ष अमृता भण्डारी लगायतले मन्तव्य राख्नुभएको थियो ।

जिल्ला सहकारी संघ म्याग्दीका अध्यक्ष कार्कीको अध्यक्षता, सहकारी बैँक बागलुङ शाखाका शैलि खड्काको स्वागत र जिल्ला सहकारी संघका सचिब ज्योति लामिछानेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । सहकारी दिवसको अवसरमा जिल्ला सहकारी संघल सहकारी संस्थाका अध्यक्ष र प्रवन्धकहरु र सञ्चालहरुलाई सहकारी सम्बन्धी गोष्ठि तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरिसकेको छ भने बुधवार मुल समारोह सहित दिवस मनाउने जनाइएको छ ।