आँधीहुरी पिडितका लागि बेनीमा विद्यार्थीले ६२ हजार सहयोग जुटाए
- १९ चैत्र २०७५, मंगलवार
- 1995 पटक पढिएको
बेनी १९ चैत । बारा र पर्साका आँधीहुरी पिडितहरुको राहतका लागि म्याग्दीका विद्यार्थीहरुले आर्थिक सहयोग संकलन गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववीयु र अनेरास्वीयु क्रान्तिकारीले सदरमुकाम बेनीमा घरदैलो गरेर मंगलबार ६२ हजार ७११ रुपैयाँ सहयोग संकलन गरेका हुन् ।
अनेरास्ववीयुका अध्यक्ष सुवास विश्वकर्मा र अनेरास्ववीयु क्रान्तिकारीका यामनाथ पौडेलको नेतृत्वमा दुवै संगठनका विद्यार्थीहरुले बेनीको विभिन्न चोक र मंगलाघाटमा सहयोगको अपिल गर्दै घरदैलो गरेका थिए ।
संकलित रकम आँधीहुरी प्रभावित क्षेत्रमा उद्धारका लागि पुगेका विद्यार्थी नेता प्रकाश पौडेल मार्फत पिडितलाई उपलब्ध गराइने अनेरास्वीयुका जिल्ला सदस्य समिर रोकाले बताउनुभयो ।