पोषण सुधारका लागि सत्र बुदे प्रतिवद्धता जारी

  • १९ चैत्र २०७५, मंगलवार
  • 1822 पटक पढिएको

बेनी १९ चैत । पोषण तथा स्वास्थ्य क्षेत्रको सुधारका लागि सत्र बुँदे प्रतिवद्धता जारी गर्दै सोमबार बेनीमा जिल्ला स्तरीय स्वास्थ्य तथा पोषण सम्बन्धि दुई दिने कार्यशाला गोष्ठि सकिएको छ । मिलन म्याग्दीद्धारा सञ्चालीत बहुक्षेत्रीय पोषण कार्यक्रम (सुआहारा) को आयोजनामा दुई दिनसम्म सञ्चालित कार्यक्रममा जिल्ला समन्वय समिति, स्थानीय प्रशासन, नगर तथा गाउँपालिकाकाका जनप्रतिनिधि, स्वास्थ्य शाखाका कर्मचारी, जिल्ला स्वास्थ्य कार्यालय, बेनी अस्पताल र मिलन म्याग्दीका प्रतिनिधिहरुको सहभागिता थियो ।

सबै पालिकामा पोषण लेखाजोखा कार्यक्रम सञ्चालन गर्ने, वृद्धि अनुगमन सुधारको लागि स्वास्थ्य संस्थामा एक दिन तोकेर कार्यक्रम गर्ने, १६ पटक भन्दा बढी वृद्धी अनुगमन भएको बच्चालाई पोत्साहन स्वरुप पुरस्कारको व्यवस्था गर्ने, उत्तर प्रसुती सेवालाई स्वास्थ्यकर्मीले घरमानै गएर उपलब्ध गराउने, पोषिलो खाना प्रर्दशनी र जिवनको महत्वपूर्ण घटना मनाउने कार्यलाई पालिकाहरुबाट निरन्तरता दिने, बुडिङ सेन्टर स्थापना र सञ्चालनमा सहयोग गर्दै अण्डा तथा मासुको उपभोगमा वृद्धि ल्याउन घरघरमा कुखुरा पालनमा सहयोग गर्ने लगायतका प्रतिवद्धता जनाएका छन् ।

 

यसैगरी स्वस्थ्य बच्चा प्रतिस्पर्धा गराउने, सबै वडामा पोषण तथा खाद्य सुरक्षा निर्देशक समिति गठन गर्ने, एक घर एक फिल्टर अभियान चलाउने, बाल बिवाह न्युनीकरण गर्ने, स्वास्थ्य आमा समूहको बैठकलाई प्रभावकारी बनाउने, सामुदायिक विद्यालयमा स्थानीय स्तरमा सेनेटरी प्याड उत्पादन गरेर उपलब्ध गराउने, गाउँघर क्लिनिकमा आवश्यक सामग्री उपलब्ध गराउने, सबै वडामा प्रसुति केन्द्र स्थापना र व्यवस्थित गर्ने, एक घर एक करेसाबारी गराउने र विद्यालयमा जंक फुड निषेध गर्ने पनि प्रतिवद्धतापत्रमा उल्लेख छ । सुआहारा कार्यक्रमले गरेका गतिबिधि, उपलब्धी, समस्या, स्थानीय तहसँग समन्वय गर्न सकिने कार्यक्रम तय र योजनाको विषयमा छलफल तथा समिक्षा समेत गरिएको थियो ।